नुवाकोट । नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा कपिलदेव खनाल विजयी हुनुभएको छ । शाखाको नेतृत्व चयन गर्नका लागि बुधबार भएको मतदानको गएराति आएको मत परिणामअनुसार खनाल अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

गत चैत २५ गते महासङ्घको देशैभरका शाखा, प्रदेश र केन्द्रीय समितिको नेतृत्व चयन गर्नका लागि भएको मतदानका क्रममा नुवाकोटको मतपत्रमा त्रृटि फेला परेपछि पुनःमतदान गरिएको हो । अध्यक्षमा निर्वाचित खनालले ११८ मत ल्याउनुभएको थियो भने उहाँको प्रतिद्वन्द्वी नारायण नेपालले पाँच मत ल्याउनुभएको थियो ।

उपाध्यक्षमा नवदीप श्रेष्ठ, महिला उपाध्यक्षमा जमुना गजुरेल, सहसचिवमा भरतसन्तोषी लामा, कोषाध्यक्षमा सुनिल विष्ट र सदस्यमा कृष्ण अधिकारी, राममणि अधिकारी, रवीन दाहाल, सुजित भण्डारी, हरि भेटुवाल र मुकुन्दराज अर्याल विजयी हुनुभएको केन्द्रीय प्रतिनिधि तथा महासङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार रावलले जानकारी दिनुभयो ।

केन्द्रीय परिषद् सदस्यमा भोलाराज पौडेल, बद्री प्याकुरेल, देवचन्द्र भट्ट र किरण अधिकारी निर्वाचित हुनुभएको छ । सचिव, सहसचिव महिला, समावेशीतर्फको चार सदस्य पद र प्रदेश परिषद् सदस्य पदमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । एक सय ७४ सदस्य रहेकामा मतदानमा १२५ मत खसेको थियो ।