राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा आज बिहान यहाँको राजधानी ढाकामा आइपुग्नुभएको छ । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा बङ्गलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदका मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी बिहान स्थानीय समयानुसार १० बजे ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नुभएको हो । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई समकक्षी हमिदले विमानस्थलमा स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीलाई विमानाट ओर्लेलगत्तै बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले पनि स्वागत गर्नुभएको थियो । राष्ट्रपति भण्डारीलाई विमानस्थलमा २१ तोपको सलामीसहित ‘गार्ड अफ अनर’ दिइयो । राष्ट्रपति भण्डारीले त्यसपछि यहाँको राष्ट्रिय शहीद स्मृति, सभारमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । त्यहाँ उहाँले वृक्षरोपण पनि गर्नुभयो । राष्ट्रपति भण्डारी हाल आवासका लागि प्रबन्ध गरिएको इन्टरकन्टिनेन्टल होटेलमा आइपुग्नुभएको छ । राष्ट्रपति भण्डारी आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता गर्नाका साथै द्विपक्षीय सम्झौता समारोहमा सहभागी हुनुहुनेछ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले पनि राष्ट्रपति भण्डारीसँग आजै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।