पछिल्लो समयमा नेपाल भारतको सीमास्थित बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि शान्तिसुरक्षामा धेरै सहज भएको छ । खुला सिमानाका कारण अनाधिकृतरुपमा नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको पुरानो बानीमा पनि परिवर्तन आएको बताइएको छ । सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बिओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन् । विगतमा चोरी डकैतीको मार खेपी रहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन् । विगतमा चौपायाको चोरी र अपराधका घटना सीमा क्षेत्रमा हुने गरेको तर, अहिले बिओपी स्थापना भएपछि यी समस्या हराएर गएको सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो । बिओपीले गर्दा नेपाली भूभागमा विगतमा हुने गरेका अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिँदै झापा केचन कवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले भन्नुभयो, “बिओपीले हामीलाई रक्षा गर्नुका साथै हाम्रा धनसम्पत्तिको पनि रक्षा गरेको छ ।” पूर्वी नेपालको भारतसँग जोडिएको इलामाका सीमावर्ती क्षेत्रमा सात बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी बल नं १ गण हेडक्वाटर श्रीअन्तुका सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिनुभयो । उहाँले इलामको कूल सीमा ५२ दशमलव दुई किमी रहेको बताउनुभयो । उहाँले अहिले सरदर एउटा बिओपीबाट अर्को बिओपीको गस्ती गर्न सात दशमलव पाँच किमी यात्रा तय गर्नुपर्ने भए पनि सीमा क्षेत्रमा पहुँच पुगेकाले कुनै पनि अप्रिय घटना हुन नदिन सचेत एवं गम्भीर रहेको प्रतिक्रिया दिनुभयो ।