सरकारले नेपाल प्रहरीका २ सय ८७ युनिटको नाम हेरफेर गरेको छ । प्रहरी प्रधान कार्यालयदेखि सीमा सुरक्षा चौकीसम्मका युनिटको नाम हेरफेर गरिएको हो । हेरफेरसँगै प्रहरी प्रधान कार्यालय (हेडक्वार्टर) को नाम ‘नेपाल प्रहरी प्रधान कार्यालय’ बनाइएको छ । उपत्यकास्थित सबै प्रहरी युनिटको नाम अघि रहेका ‘महानगरीय’ शब्द झिकिएको छ ।

उपत्यकाको समग्र शान्तिसुरक्षा व्यवस्थापन र सुपरिवेक्षण गर्दै आएको महानगरीय प्रहरी कार्यालयलाई ‘काठमाडौं उपत्यका प्रहरी कार्यालय’ बनाइएको छ । महानगरीय अपराध महाशाखालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय नामकरण गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरको नाम जिल्ला प्रहरी परिसर कायम भएको छ ।

उपत्यकाभित्रका वृत्त, प्रभाग र बेसका अघि रहेको महानगरीय शब्द पनि हटाइएको छ । जस्तै महानगरीय प्रहरी वृत्त सिंहदरबारको सट्टा प्रहरी वृत्त सिंहदरबार रहनेछ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय राखिएको छ । महानगरीय सशस्त्र प्रहरी गणलाई काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नामकरण गरिएको छ । कान्तिपुरबाट•∼