सरकारले पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशअन्तर्गत ४० जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दोस्रो चरणमा प्रदेश १, वाग्मती र कर्णाली प्रदेशअन्तर्गत ३७ जिल्लामा निर्वाचन निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिनुभयो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर पहिलो चरणमा आगामी वैशाख १७ र दोस्रो चरणमा वैशाख २७ गते निर्वाचन गर्ने घोषणा गरेको थियो । बैठकले यही माघ ३० गते तामाङ र शेर्पा समुदायको ठूलो चाड सोनाम ल्होसारका अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ । मुलुकमा रहेका विभिन्न जातजाति र भाषाभाषीको चाडपर्वलाई विगत वर्षमा सार्वजनिक बिदा नदिने निर्णय गरेपनि यस वर्ष विभिन्न चाडपर्वमा सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रवक्ता गुरुङले बताउनुभयो ।