तनहुँ ।
तनहुँको ब्यास नगरपालिका–१० मादी नदीस्थित परेवाडाँडाको भीरमा साहसिक लठ्ठे पिङ निर्माण कार्य थालिएको छ ।

आन्तरिक एवं वाह्य पर्यटकलाई आर्कषण गर्ने उद्देश्यले परेवाडाँडाको भीरमा लठ्ठे पिङ निर्माण कार्य थालेको हो । परेवाडाँडाको नाउँलाई जीवन्तता राख्न नगरपालिकाले परेवा जोडी निर्माण गरेर संरक्षण कार्य थालिसकेको छ । परेवा मूर्ति निर्माण पश्चात उक्त स्थानमा पर्यटकको चहलपहलमा वृद्धि हँुदै गएपछि यसक्षेत्रको विकासको लागि व्यक्तिको लगानीमा लठ्ठे पिङ र भ्यू प्वाइन्टलगायत संरचना निर्माण गर्न लागिएको हो ।

समुद्री सतहदेखि करिब ९० मिटर उचाइबाट लठ्ठे पीङ खेल्दा मादी नदीको करिब आधा भागसम्म पुग्न सकिने पिजनहिल होटल एण्ड रेष्टुरेन्टका सञ्चालक विवेक सापकोटाले बताउनुभयो । यसरी पीङ खेल्दा पुगिने पारिपट्टिको भाग ब्यास नगरपालिका–५ चिन्तुटारमा पर्दछ । उहाँले भन्नुभयो “जिआइ पाइपको पिल्लर गाडेर कटनको लठ्ठ प्रयोग गरी सेफ्टी बेल्टसहित मादी नदीमा छायाँ देखिने गरी पिङ खेल्न सकिनेछ ।”

उक्त स्थानमा पिङ, भ्यूप्वाइन्ट, बाल उद्यान र पार्कलगायत संरचना निर्माण गर्दा झण्डै रु एक करोड खर्च हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । पार्कभित्र साढे सात फिटको आर्कर्षित शिवजीको मूर्तिसमेत निर्माण गरिने छ । दमौलीस्थित नर्सिङ इञ्जिनीयरिङ कन्सल्टटेन्सीले उक्त पीङको नक्साङ्कन गरिरहेकाले अहिले अन्य संरचनाको कार्य भइरहेको छ । उहाँले भन्नुभयो “अबको एक महिनाभित्रमा पिङ र भ्यूप्वाइन्ट सञ्चालनमा ल्याइने तयारी गरिएको छ ।”

यसरी प्रयोग गरिने सेफ्टी बेल्ट एक हजार ८०० केजीसम्मको तौल धान्ने, अकस्मात हात फुत्कियो भने पनि सेफ्टी बेल्टले बचाउन सक्ने गरी व्यवस्था गरिएको छ । बञ्जीजम्प र प्याराग्लाडिङमा प्रयोग गरिने किसिमको बेल्ट राखिएको बताइएको छ । दह्रो मुटु हुनेले मात्रै यो खेल्न सक्नेछन् । उहाँले भन्नुभयो “साहसिक खेल भएकाले स्वास्थ्यकर्मी राखेर पिङ खेल्न चाहने व्यक्तिको ब्लडप्रेसर जाँच र मापसे सेवन गरेको नगरेको परीक्षण गराएर मात्रै सहभागी गराइनेछ ।” लठ्ठे पिङ, भ्यूप्वाइन्ट, बाल उद्यान र पार्कमा प्रवेशका लागि शुल्क पछि नै तय गर्ने योजना रहेको बताइएको छ ।

मादी नदीमाथि भ्यूप्वाइन्ट

पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लठ्ठे पिङको साथै मादी नदीमाथि भ्यूप्वाइन्ट निर्माण गरिने भएको छ । ग्लासको रेलिङ राखेर सुरक्षित किसिमको भ्यूप्वाइन्ट निर्माण गर्न लागेको सञ्चालक सापकोटाले जानकारी दिनुभयो ।

मादी नदी नजिक रहेको भीरको अवस्था कोप्रो रहेको, नदी तल बगेको र माथि रहेको पहरा अगाडि निस्किएको चुच्चो भागमा बसेर फोटो, सेल्फी र टिकटकलगायतका तस्बीर लिन सकिनेछ ।

पर्यटकको रोजाइँ बन्दै परेवाडाँडा

उक्त वडास्थित परेवाडाडाँमा रहेको पहरोमा परेवा बस्ने गरे पनि पछिल्लो समय गुलेली र बम हान्ने जस्ता कार्यले विस्थापित हँुदै गएकाले त्यसको संरक्षण गर्न थालेपछि पर्यटकको चहलपहलमा वृद्धि भएको हो ।

वडा कार्यालयको सक्रियतामा परेवाको मूर्ति निर्माण गरिएपछि अहिले दिनमा ८० देखि १०० सम्म जोडी आएर फोटो खिच्ने, सेल्फी लिने र टिकटक बनाउने गरेको वडाध्यक्ष तुलसीराम सापकोटाले बताउनुभयो ।

उक्त स्थानबाट मादी नदीको पानी कलकल बगेको आवाज, मनासलु, अन्नपूर्णलगायतका दृश्य अवलोकन, गलेखामकोट, मानहुँकोट, काँहुडाँडा, दुम्सीकोट, कालिका मन्दिर, क्यामिनकोट कालिका, कलेस्ती फाँट, तनहुँ कालिका र दमौलीका केही भाग लगायत ऐतिहासिक तथा धार्मिकस्थलको अवलोकन गर्न सकिने छ । वडाध्यक्ष सापकोटाले भन्नुभयो “यहाँको प्रचुर सम्भवना हुँदाहँुदै पनि प्रचारप्रसारमा कमी हुँदा ओझेलमा पर्दै गएकोले यसको संरक्षण थालिएको हो ।”

उक्त वडाभित्र रहेका दुम्सीचौर, कुमालटारी र पाथ्राघाटस्थल ऐतिहासिक दृष्टिले महत्वपूर्ण रहेकाले त्यसको संरक्षण गरी आन्तरिक एवं वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ऐतिहासिकस्थलको नाम नमेटिने गरी पहिलो चरणमा परेवाको जोडी बनाउन शुरु गरिएको छ ।” मूर्तिकार ल्याएर उक्त स्थानमा एक परेवा जोडी बनाउन शुरु गरिएको र जोडी परेवाको मूर्ति निर्माणमा करिब रु ६ लाख खर्च हुने अनुमान गरिएको उहाँले बताउनुभयो ।

सात फिट लामो र करिब तीन देखि चार टन सम्म तौलको मूर्ति निर्माण गरिने उहाँको भनाइ छ । एक वटा परेवाको मूर्ति निर्माण गरी राखिसके पनि अर्को परेवाको मूर्ति निर्माण कार्य भइरहेको वडा कार्यालयले जनाएको छ । वडामा रहेको ऐतिहासिकस्थलको रुपमा दुम्सीचौरमा दुम्सी चरिरहेको, कुमालटारीमा कुमाल जातिले आरी, हुक्का या घंैटो बनाइरहेको, पाथ्राघाटमा माझिले डुङ्गा चलाएको बनाउने गरी निर्णय गरिएको वडाध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।

यो वर्ष परेवाडाँडामा परेवा जोडी र दुम्सीचौरमा दुम्सी चरिरहेको निर्माण गर्ने योजनाका साथ काम अघि बढाइएको छ । परेवाडाँडामा सडकको मापदण्ड कटाएर परेवाको मूर्ति निर्माण गरिएको उहाँले बताउनुभयो । बोटे, कुमाल र दरै जातिको बाहुल्यता रहेको छ । विस्थापित हुँदै गएको ऐतिहासिकस्थलको संरक्षण गरी भावी सन्ततीलाई यी स्थानको बारेमा पहिचान गराउन सहज बनाउने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ ।

करिब सात रोपनी क्षेत्रफल रहेको उक्त क्षेत्रमा चिल्डे«न पार्क, होटल र पार्किङस्थल निर्माण गरेर आन्तरिक एवं वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । नगरपालिकाभित्र रहेका यस्ता ऐतिहासिक, धार्मिक र साँस्कृतिक क्षेत्रको पहिचान गरी संरक्षण गर्ने कार्यलाई प्राथामिकतामा राखिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो ।