न्युयोर्क । विश्व स्वास्थ्य संगठनले केही मिनेट मै कोभिड १९ को जाँच गर्न सकिने नयाँ परीक्षण विधि आउने बताएकोछ । उक्त कोभिड टेस्टको खर्च पाँच डलर मात्र पर्न आउने र यसले स्वास्थ्यकर्ता र प्रयोगशाला कम भएका देशहरुलाई फाईदा पुर्याउने संगठनले जनाएको छ ।
कोभिड १९ को पहिचान गर्ने उक्त नयाँ टेस्टले गरिब तथा सामान्य आय भएका देशहरुमा संक्रमण पत्ता लगाउने क्षमतामा तीब्र बृद्धी हुन सक्ने बताइएको छ ।
विश्वभरी कोरोना भाइरसबाट मारिनेको संख्या दश लाख नाघिसकेको बेला संगठनले उक्त कुरा बाहिर ल्याएको हो । अमेरिकाको जोन्स हपकिन्स युनिभर्सिटीको आंकडा अनुसार यसमा आधा भन्दा बढी मृत्यु हुनेमा अमेरिका, ब्राजिल, भारत र मेक्सिकोका छन् ।
उक्त टेस्ट विकसित गर्ने कम्पनीसँग भएको अनुबन्ध अनुसार कम्पनीले ६ महिना भित्र १२ करोड परीक्षण गर्न सक्षम हुने डब्ल्युएचओले जनाएकोछ । यस उपलब्धीलाई महामारीका नियन्त्रण गर्नमा कोशे ढुंगा प्रमाणित हुन सक्ने संगठनले आशा ब्यक्त गरेको छ ।