जनकपुर ।
प्रदेश नं २ का प्रमुख तिलक परियारले देशमा विद्यमान विभिन्न वर्ग, जाति, जनजाति, मधेशी, महिला, दलित, मुस्लिम र पिछडिएका क्षेत्रका सबैमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ यो राष्ट्रिय सङ्कल्प हासिल गर्न मन, वचन र कर्मले समर्पित हुन प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । संविधान दिवसको उपलक्ष्यमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले तीनै तहका सरकार र आम समुदायमा संविधानको मर्म र भावनालाई व्यवहारमा कार्यान्वयन गर्न थप उत्प्रेरणा प्रदान गरोस् भनी शुभेच्छासमेत प्रकट गर्नुभएको छ ।

प्रदेश प्रमुख तिलक परियारले जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलनका साथै विविध जनवर्गीय आन्दोलनहरुमा नेपाली जनताको लाखौँको सहभागिता, हजारौँ बलिदान, त्याग तपस्या र रगत पसिना बगाएर यो संविधान प्राप्त भएको उल्लेख गर्नुभएको छ । साथै, उहाँले कोभिड–१९ को महामारीका कारण मुलुक प्रभावित भएको उल्लेख गर्नु हुँदै रोकथाम र उपचारका लागि रातदिन खटिने तीनै तहका सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि र समाजसेवीलाई धन्यवाद दिनुभएको छ । प्रदेश प्रमुख परियारले सङ्क्रमणका कारण मृत्यु हुनेहरुमा श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सङ्क्रमणको कारण बिरामी हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।