काठमाडौं । माक्स नलगाएको निहुँमा नेकपा माओवादी (विप्लव) समूहका उमा भुजेल र सुमन सिंह पौडेल एक महिना भन्दा बढी प्रहरी हिरासतमा रहनु परेको छ । विना कारण बन्दी बनाइएको उल्लेख गर्दै सर्वोच्च अदाललते भुजेल र पौडेललाई रिहा गर्न आदेश दिएबमोजिम उनीहरु आइतबार मुक्त भएका छन् ।
भुजेललाई हातहतियार तथा खरखजाना मुद्दामा २०७७ साल साउन १२ गते प्रहरीले पक्राउ गरी हिरासतमा राखेको थियो । भुजेललाई सुनसरी जिल्ला अदालतले उक्त मुद्दामा साधारण तारेखमा छुटाउन आदेश दिएको थियो । छुटेकै दिन यही भदौ २ गते इलाका प्रहरी कार्यालय ,कन्चनपुर सप्तरीको प्रहरी टोलीले भुजेललाई पुनः पक्राउ गरेको थियो ।
त्यसपछि अभद्र ब्यवहार गरेको आरोपमा भुजेललाई जिल्ला प्रशासन कार्यालय, सप्तरीमा पेश हुँदा १५ दिन थुनामा राख्ने अनुमति दिइएको थियो । यसरी गत साउन १२ गते देखि गैरकानूनी रुपमा बन्दी बनाएर राखिएको उल्लेख गर्दै भुजेलको तर्फबाट प्रतिमा भुजेलबाट सर्वोच्चमा रिट निवेदन दायर भएको थियो ।
भुजेललाई पक्राउ गर्नुको कारणसहित रिट निवेदनमा उल्लेख भएका विपक्षीबाट लिखित जवाफ सर्वोच्चमा पठाएका थिए । लिखित जवाफमा माक्स नलगाई बाटोमा हिड्नु पर्ने कारण बारे सोध्दा भुजेलले प्रहरी माथि अभद्र ब्यवहार गरेकोले पक्राउ गर्नु परेको उल्लेख छ ।
यसै गरी पौडेलविरुद्ध पनि पहिले हातहतियार तथा खरखजाना मुद्दा लगाइएको थियो । पौडेललाई पनि सुनसरी जिल्ला अदालतले साधारण तारेखमा छोड्ना साथ प्रहरीले पक्राउ गरेको थियो । पछि पौडेललाई पनि अभद्र ब्यवहार सम्बन्धी मुद्दामा कारवाही अगाडि बढाइएको थियो । उहाँलाई पक्राउ गर्नुको दावी पनि माक्स नलगाई हिड्नुको कारण सोध्दा प्रहरी माथि नै अभद्र ब्यवहार गरेको भन्ने छ ।
सर्वोच्चले ती दुईलाई गैरकानूनी रुपमा थुनामा राखेको निष्कर्ष निकाली उनीहरुलाई रिहा गर्न आदेश दिएको छ । आदेशमा उनीहरुलाई फरक विचार र आस्थाका कारण थुनामा राखिएको स्पष्ट गरेको छ ।
आदेशमा भनिएको छ–‘स्पष्ट आधार र कारण विना प्रबृत्त भावनाले निवेदकलाई केवल फरक विचार र आस्था राखेकै कारणबाट मात्र पक्राउ गर्ने र अनुसन्धानको क्रममा भनी थुनामा राख्ने कार्य न्यायिक दृष्टिकोणबाट समेत औचित्यपूर्ण नभएबाट यी निवेदकको हकमा विपक्षीहरुको नाउँमा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’
बन्दी बनाइएका भुजेल र पौडेलका कानून ब्यवसायी वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ती दुई बन्दीलाई सम्बन्धित जिल्ला अदालतका न्यायाधीशको रोहवरमा रिहा गर्न सर्वोच्चले आदेश दिएको जानकारी दिनुभयो । उमा भुजेल विप्लब समूहका केन्द्रीय सदस्य हुन् ।
यो समाचार आज नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।