काठमाडौ । कोभिड– १९ का कारण विद्यालय बन्द भएपछि नेपालमा पनि वैकल्पिक विधिबाट पठनपाठन सुरु गरिएको छ । तर, अहिलेसम्म दुईतिहाइ अर्थात् ५४ लाखभन्दा बढी बालबालिका दूरशिक्षाबाट समेत वञ्चित रहेको युनिसेफको अध्ययनले देखाएको छ ।

युनिसेफले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालबालिका तथा परिवारबारे गरिएको अध्ययनमा विद्यालय जानेमध्ये दुईतिहाइ बालबालिका दूरशिक्षाको अवसरबाट वञ्चित रहेको पाइएको हो ।
अहिले स्कुल जाने १० मध्ये तीन बालबालिकाको मात्रै टेलिभिजन, रेडियो र इन्टरनेटमा आधारित सिकाइका माध्यमहरूमा पहुँच रहेको युनिसेफले जनाएको छ । त्यसमध्ये पनि ८० प्रतिशतले मात्रै दूरशिक्षाका माध्यमहरूलाई आफ्नो सिकाइ लागि उपयोग गरिरहेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार बालविकासदेखि कक्षा १२ सम्म ८१ लाख २७ हजार एक सय ८३ विद्यार्थी छन् । प्रारम्भिक बालविकासमा ११ लाख ५५ हजार ६१, आधारभूत तह (कक्षा १–८)मा ५३ लाख १९ हजार चार र माध्यमिक तह (कक्षा ९–१२)मा १७ लाख २६ हजार १८ विद्यार्थी छन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको संख्या करिब ५६ लाख छ ।

कोभिडका कारण विद्यालय बन्द रहेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नै १ असारदेखि वैकल्पिक विधिको प्रयोग गरी पठनपाठन सुरु गरेको हो । अहिले रेडियो तथा टेलिभिजनबाट पठनपाठन सञ्चालन गरिरहेको छ । सरकारले सुरुमा दूरशिक्षा सञ्चालनका लागि २५ करोड लगानी गरेको थियो भने अहिले लगानी बढाउँदै गएको छ । नेपालमा परिवार जति गरिब हुन्छ, त्यति नै त्यो परिवारका बालबालिकाले दूरशिक्षामा पहुँच प्राप्त गर्ने वा त्यसको उपयोग गर्ने सम्भावना कम भएको जनाएको छ । तथ्यांकअनुसार सबैभन्दा गरिब परिवारका बालबालिकामध्ये पाँच प्रतिशतले मात्रै दूरशिक्षामा पहुँच प्राप्त गरी त्यसको सदुपयोग गर्छन् ।

युनिसेफको अध्ययनअनुसार विद्यालय बन्द रहेको समयमा दूरशिक्षाबारे चासो देखिएको भए पनि पठनपाठनको अवस्था अझै चिन्ताजनक रहेको छ । प्रविधि र साधनहरू उपलब्ध भए पनि घरको काम गर्नुपर्ने दबाब, जबर्जस्ती काममा लगाइनु, सिक्नका लागि उपयुक्त वातावरणको अभाव र अनलाइनमा रहेको वा टेलिभिजन र रेडियोमा प्रसारित पाठ्यक्रमको प्रयोग गर्न मद्दत गर्ने व्यक्तिको अभाव छ । यी कारणले बालबालिकाले दूरशिक्षाका माध्यमबाट प्रभावकारी रूपमा सिकाइ हासिल गर्न असमर्थ रहेको प्रतिवेदनमा औँल्याएको छ ।

युनिसेफको अध्ययनअनुसार विश्वभर एकतिहाइ अर्थात् ४६ करोड ३० लाख बालबालिका दूरशिक्षाको पहुँचबाट वञ्चित छन् । दूरशिक्षामा पहुँच योग्यता प्रतिवेदनले एक सयवटा देशहरूमा पूर्वप्राथमिक, प्राथमिकदेखि माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकामाझ दूरशिक्षाका लागि आवश्यक घरमा आधारित प्रविधि तथा साधनहरूको उपलब्धताको विश्वव्यापी प्रतिनिधिमूलक विश्लेषणको प्रयोग गरेको छ । तथ्यांकमा टेलिभिजन, रेडियो र इन्टरनेटको पहुँच तथा विद्यालय बन्द भएको समयमा यी माध्यमबाट उपलब्ध गराइएका पाठ्यक्रमको उपलब्धता पनि समावेश छ ।

कोभिड– १९ का कारण विद्यालय जानबाट वञ्चित कम्तीमा ४६ करोड ३० लाख बालबालिकाको दूरशिक्षामा पनि पहुँच नभएको बताउँदै युनिसेफका कार्यकारी निर्देशक हेनेरिएटा फोरले भने, ‘महिनौँसम्म यति धेरै बालबालिकाको पढाइ एवं सिकाइमा पूर्ण अवरोध हुनु भनेको विश्वव्यापी शैक्षिक आपत्काल हो । यसको असर आगामी केही दशकसम्मै अर्थतन्त्र तथा समाजमा महसुस हुनेछ ।’

विभिन्न देशमा भएका देशव्यापी र स्थानीय लकडाउनको समयमा विद्यालय बन्द हुँदा झन्डै डेढ अर्ब बालबालिका प्रभावित भएका थिए । दूरशिक्षामा पहुँच योग्यता प्रतिवेदनमा दूरशिक्षाका सीमितता र पहुँचमा रहेको व्यापक अन्तरबारे उल्लेख गरिएको छ । अत्यधिक गरिब परिवार तथा ग्रामीण क्षेत्रमा बसोवास गर्ने परिवारका बालबालिकाले विद्यालय बन्द हुँदा दूरशिक्षाको अवसरबाट वञ्चित हुने सम्भावना अत्यधिक हुने कुरा प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी रूपमा हेर्दा दूरशिक्षाबाट वञ्चितमध्ये ७२ प्रतिशत बालबालिका आफ्नो देशमै अत्यधिक गरिब परिवारका छन् । उच्च–मध्यम आय भएका देशहरूमा दूरशिक्षाका अवसरबाट वञ्चित बालबालिकामध्ये ८६ प्रतिशत अत्यधिक गरिब परिवारका छन् भने विश्वव्यापी रूपमा हेर्दा त्यस्तो पहुँचबाट वञ्चित भएकामध्ये ७५ प्रतिशत बालबालिका ग्रामीण क्षेत्रमा बसोवास गर्छन् ।

त्यस्तै, पूर्वप्राथमिक तहका विद्यार्थीमध्ये ७० प्रतिशत अर्थात् १२ करोडलाई विभिन्न कारणले दूरशिक्षामा समेट्न सकिएको छैन । यसका प्रमुख कारणमा धेरै साना बालबालिकाका लागि अनलाइनको सिकाइ चुनौतीपूर्ण हुनु, यो समूहका बालबालिकाका लागि दूरशिक्षा कार्यक्रमको अभाव र त्यसका लागि घरमा उपकरण अभाव आदि छन् । प्राथमिक तहका विद्यार्थीमध्ये कम्तीमा २९ प्रतिशत अर्थात् २१ करोड ७० लाखलाई दूरशिक्षामा समेट्न नसकेको पाइएको छ भने कक्षा ६ देखि ८ सम्मका २४ प्रतिशत अर्थात् सात करोड ८० लाख विद्यार्थीसम्म दूरशिक्षाको पहुँच छैन ।

दूरशिक्षामा पहुँचका आधारमा माध्यमिक तहका विद्यार्थी सबैभन्दा कम वञ्चित रहेको पाइएको छ । १८ प्रतिशत अर्थात् चार करोड ८० लाख बालबालिका दूरशिक्षाका लागि आवश्यक प्राविधिक साधनको अभावका कारण वञ्चित भएका थिए । विद्यालय पुनः सुरु गर्न सम्भव नभएमा छुटेका कक्षाहरूको सट्टामा थप सिकाइका अवसरहरू विद्यालय निरन्तरता र पुनर्सञ्चालन योजनामा समावेश गर्न युनिसेफको सुझाब छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। तुलसी थपलिया भन्छन्–शिक्षकलाई समन्वयकारी भूमिका दिन सुझाब छ

वैकल्पिक विधिबाट भएको पठनपाठनको सिस्टमेटिक अध्ययन गरेका छैनौँ, तर विभिन्न छलफलमा यस विषयमा समीक्षा भएको छ ।

युनिसेफले सिस्टमेटिक अध्ययन गरेको होला । दूरशिक्षाको पहुँचमा पनि सामाजिक र आर्थिक अवस्थाले प्रभाव पारेको छ । कतै राम्रो प्रभाव र कतै सुधार गर्नुपर्ने देखिन्छ ।

विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन शिक्षकको संयोजन आवश्यक छ भन्ने सुझाब आएका छन् । परिवारको वातावरणले बालबालिको सिकाइ प्रभावित भएको छ । शिक्षकको समन्वयात्मक भूमिका हुनुपर्छ भन्ने सुझाब आएका छन् । यो समाचार आज नयां पत्रिका दैनिकमा छापिएको छ ।