बैतडी । भारतबाट फर्किएका नागरिकको समयमै कोरोना रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिँदैं गएको छ ।
क्वारेन्टाइनमा बसेको महिना दिन पुगे पनि रिपोर्ट नआउँदा बैतडीका विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका छन् ।
स्वाब संकलन भएकाहरुको समेत समयमा रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक आक्रोशित हुन थालेका हुन् ।

क्वारेन्टाइनमा बसेको १ महिना पुग्न लाग्दा समेत रिपोर्ट नआउँदा समस्या भएको उनीहरुको गुनासो रहेको छ । पुर्चौंडी नगरपालिका–८ का लक्ष्मण विक जेठ ९ गतेदेखि पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका छन् । लक्ष्मणको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि स्वाब संकलन गरी पठाइए पनि महिना दिन बितिसक्दा समेत पीसीआर रिपोर्ट नआउँदा क्वारेन्टाइनमै बस्न बाध्य भएका हुन् ।

यस्तै भारतबाट फर्केर गत जेठ १७ गतेदेखि क्वारेन्टाइनमा बसेको भए पनि हालसम्म पनि रिपोर्ट नआएको सुर्नया गाउँपालिका–२ का राजेन्द्र विष्टको गुनासो रहेको छ । नेपाल राष्ट्रिय मावि सिउडेको क्वारेन्टाइनमा बसेका राजेन्द्रलगायत अन्य १० जनाको आरडीटी पोजेटिभ आएको भए पनि रिपोर्ट आएको छैन ।

असार २ गते स्वाब संकलन गरी पठाइएको भए पनि हालसम्म पनि रिपोर्ट नआउँदा क्वारेन्टाइनको बसाइ लम्बिएको उहाँले बताउनुभयो ।

यसका साथै क्वारेन्टाइमा बसेका नागरिकको आत्मबल तथा हौसला बढाउन हालसम्म पनि कुनै जनप्रतिनिधि नआएको उद्धव चन्दको गुनासो रहेको छ ।

उता सुर्नया गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले भने प्रदेशमा एउटा मात्रै परीक्षण गर्ने मेसिन भएकाले रिपोर्ट आउन ढिलाइ भएको बताउनुभयो । क्वारेन्टाइनमा बसेकाहरुको आत्मबल र हौसला बढाउन आफूहरु क्वारेन्टाइनमा पुग्ने विष्टको भनाइ छ ।

जिल्लाको पुर्चौंडी नगरपालिका–८ स्थित नेरा मावि क्वारेन्टाइनमा बसिरहेका ४१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि उनीहरुमध्ये २६ जनाको मात्रै स्वाब संकलन भएको छ भने अन्यको स्वाब संकलन गर्ने कार्य पनि बाँकी रहेको छ ।

स्वाब संकलन भएकाहरुको समेत समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु आक्रोशित हुन थालेका मल्लादेही स्वास्थ्यचौकीका इन्चार्ज हेमराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘क्वारेन्टाइनमा बसिरहेकाहरुको समयमा रिपोर्ट नआउँदा आफूहरुलाई स्थानीय स्तरमा काम गर्न असहज भएको छ ।’

आरडीटी रिपोर्ट पोजेटिभ आएकाहरुको स्वाब संकलन गरी पठाएको भए पनि समयमा रिपोर्ट नआउँदा उनीहरुलाई त्यतिकै घर पठाउनुपर्ने बाध्यता आइलागेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयो ।

पुर्चौंडी नगरपालिका–८ की तारा विकले आफूहरुलाई क्वारेन्टाइनमा बसेको एक महिना पूरा हुँदा समेत रिपोर्ट नआउँदा साह्रै समस्या भएको दुखेसो गर्नुभयो । एकै क्वारेन्टाइनमा बसेका ४१ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएपछि उनीहरुलाई घर पठाउन पनि समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाका १० ओटै स्थानीय तहमा १ हजार ६ सय बढी नागरिक क्वारेन्टाइनमा छन् । उनीहरुमध्ये धेरैजसो आरडीटी रिपोर्ट पोजेटिभ आएका नागरिक हुन् ।

बैतडीका आरडीटी पोजेटिभ आएका ५ सय बढीको पीसीआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा धनगढीमा एउटा मात्रै पीसीआर गर्ने प्रयोगशाला रहेकोले परीक्षण गर्न ढिलाइ भइरहेको हो ।

गत चैत १५ गतेको प्रदेश मन्त्रिपरिषद्को बैठकले धनगढीसहित, बैतडी र डोटीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको भए पनि कार्यान्वयन नहुँदा समस्या हुँदै आएको छ ।
नेपाल समाचारपत्रबाट