काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेसँगै नेपाल संक्रमणको चौथो चरणमा प्रवेश गरेको छ । स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनाअनुसार सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ लागु गर्ने योजना बनाएको थियो ।

ऐनको दफा ३२ को उपदफा १ मा नेपालको कुनै ठाउँमा गम्भीर प्रकृतिको विपद् उत्पन्न भएकाले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न आवश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी त्यस्तो क्षेत्रको सिमाना र अवधि तोकी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने उल्लेख छ ।

यस्तै, स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजनामा कोभिड– १९ संक्रमित भएका र अन्य स्वास्थ्य सेवाको परामर्शका लागि टेलिमेडिसिन सेवा प्रयोगमा ल्याइने उल्लेख छ ।

नेपालमा कोरोना भाइरस संक्रमण फैलिएको १ सय ५० दिनको अवधिमा १० हजार ९९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो एक सातामा थप ३ हजार ५ सय आठ जनालाई संक्रमण देखिएको छ ।

तर, अस्तव्यस्त क्वारेन्टिन, खुकुलो लकडाउन, पिसिआर परीक्षणको दायरा फराकिलो बन्न नसक्नुलगायतका कारण जोखिम झन् बढेको विज्ञको दाबी छ । कुल संक्रमितमध्ये २४ जनाको ज्यान गएको छ । नेपालमा पहिलोपटक १० माघमा कोरोना संक्रमण पुष्टि भएको थियो । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।