काठमाडौं । बंगालको खाडी र बंगलादेशको आसपासमा निम्न चापीय प्रणाली सक्रिय रहेकाले मुलुकभर बर्षाको संभावना रहेको छ ।

नेपालको पूर्वी भू–भागमा उक्त प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेकोले बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पूर्वी र मध्य भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।

आज दिउँसो देशको मध्य तथा पूर्वी भू–भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य तथा पूर्वी पहाडी भू–भाग लगायत पूर्वी तराईका केही स्थानहरु र पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।