लन्डन । सेल्टिक स्कटिस प्रिमियरसिपको च्याम्पियन बनेको छ।

कोरोना भाइरसको कारण गत मार्चबाट स्थगित स्कटल्याण्डको शिर्ष डिभिजनको फुटबल लिग स्कटिस प्रिमियरसिपको अन्त्य गरेसँगै सेल्टिकलाइ लिग च्याम्पियन घोषित गरिएको हो।

स्कटिस प्रिमियरसिपले सोमबार बसेको बोर्ड बैठकमा लिग अन्त्य गर्ने निर्णय भएको हो। बैठकमा लिगका १२ क्लबले नै लिगको अन्त्य गर्नेमा सहमति जुटाएका थिए ।

लिग अन्त्य गरिएसंगै, तालिकाको शिर्ष स्थानको सेल्टिकले लगातार नवौं पटक उपाधी आफ्नो पोल्टामा पारेको छ। लिग तालिकामा सेल्टिकले दोस्रो स्थानको रेन्जर्स विरुद्ध १३ अंकको अग्रता बनाएको थियो।

त्यस्तै तालिकामा अन्तिम स्थानको हर्ट्सको भने स्कटल्याण्डको दोस्रो डिभिजनको फुटबल प्रतियोगिता स्कटिस च्याम्पियन्सिपमा घटुवा भएको छ।

त्यस्तै स्कटल्याण्डको फुटबल संघले सेमिफाइनल सम्म पुगेको स्कटिस कपको भने समापन गर्ने प्रयासमा रहेको दावी गरेको छ ।