काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश मामिला विभाग प्रमुख माधवकुमार नेपालले कोभिड –१९ का सम्बन्धमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसंँग आज भिडियो कन्फरेन्स गर्नु भएको छ ।
उहाँलगायत नेताहरुले कोरोना भाइरसबारे चिनियाँ कम्युनिष्ट पार्टी, अन्तरराष्ट्रिय विभाग प्रमुख सङ ताओसंँग भिडियो कन्फरेन्स गर्नुभएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
छलफलमा नेता नेपालले चीनले कोभिड– १९ को रोकथाम र नियन्त्रण गर्न अपनाएको विधिका सम्बन्धमा कुरा गर्नुभएको थियो । करीब तीन घण्टा भएको छलफलमा नेकपाका वरिष्ठ नेता नेपालसंँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपाका गण्डकी प्रदेशबाहेकका सबै पार्टी प्रदेश इञ्चार्ज र चिकित्सक तथा चिनियाँ कम्युनिष्ट पार्टीका तर्फबाट अन्तर्राष्ट्रिय विभाग प्रमुख सङसँगै प्रा झोङ नान सान, मेडिकल चिकित्सक तथा वैज्ञानिक सहभागिता हुुनुहुन्थ्यो ।
बुटवल– नेकपा प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शंकर पोखरेलले भिडियो संवादमा आफ्नो प्रदेशमा चार कोरोना अस्पताल स्थापना गरी २३० शय्याको व्यवस्था गरिएको र ४८ अन्य अस्पतालमा ३३५ शय्या कोरोना रोग उपचारका लागि व्यवस्था भएको जानकारी दिनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । त्यसैगरी प्रदेशमा रहेका अन्य स्वास्थ्य संस्थामा १६ हजार ९७२ शय्या रहेको र ५६४ क्वारेन्टाइन रहेको मुख्यमन्त्रीले बताउनुभएको थियो ।
सूचना प्रविधिमा आधारित स्थानीय तह र प्रदेश सरकारबीच रिपोर्टिङ प्रणालीको व्यवस्थापन गरिएको तथा कोभिड—१९ ट्रयाकिङ मोबाइल एप र ब्ल्युटुथमा आधारित कोरोना ट्रेसिङ एप तयार गरिएको जानकारी पनि उहाँले दिनुभएको सल्लाहकार केसीले बताउनुभयो ।