टोकियो । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सन्त्रासका कारण यस वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म जापानमा आयोजना हुने भनिएको टोकियो ओलम्पिक एक वर्ष पर धकेलिसकेको छ। तर, सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म तय भएको ओलम्पिक पनि नहुने आशंका गरिन थालिएको छ।

विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिक अहिलेको जस्तो अवस्था रहिरहेमा हुन नसक्ने टोकियो ओलम्पिक आयोजक समितिका अध्यक्ष योसिरो मोरीले बताएका छन्। एक जापानी सञ्चार माध्यमसँग कुराकानी गर्दै मोरीले यो वर्षको अन्त्यसम्म पनि कोरोना भाइरस नियन्त्रणमा नआएमा टोकियो ओलम्पिक हुन नसक्ने दाबी गरेका हुन्।

उनले अहिले घोषणा गरेको मितिमा पनि ओलम्पिक खेलकुद आयोजना हुन नसकेमा त्यसलाई रद्द गर्नुको विकल्प नभएको बताए। ‘कोरोना भाइरसको महामारी रोकिएन भने ओलम्पिक खेलकुद अब पछाडि सार्न सकिँदैन। यसको एउटा उपाय भनेको यसलाई रद्द गर्नु हो’, मोरीले भनेका छन्।

यसअघि विश्वयुद्धका क्रममा ओलम्पिक खेलकुदलाई रद्द गरिएको उदाहरण पेस गर्दै उनले अहिले सारा मानव समुदाय ‘अदृश्य दुश्मन’ विरुद्धको लडाईंमा होमिएकाले ओलम्पिक खेलकुद रद्द भए पनि फरक नपर्ने बताए। ‘अहिले हाम्रो लक्ष्य भनेको कोरोना भाइरसलाई पराजित गर्नु हो। यो लडाईंमा हामीले चाँडै विजय हासिल ग¥र्यांै भने मात्र अर्को वर्ष ओलम्पिक खेलकुद आयोजना गर्न सक्छांै’, उनले भनेका छन्, ‘नत्र यसलाई रद्द गर्नुको विकल्प हामीसँग छैन।’

टोकियो ओलम्पिकका लागि जापान सरकारले अहिलेसम्म १३ बिलियन अमेरिकी डलर खर्च गरिएको मोरीले जानकारी दिए। उनले सरकारले यति धेरै लगानी गरिसक्दा ओलम्पिक पूर्वघोषित मितिमा होस् भन्ने चाहना हुँदाहुँदै पनि अहिलेको विषम परिस्थितिलाई नजरअन्दाज गर्न नसकिने बताए।

यसअघि ओलम्पिक आयोजक कमिटीका केही सदस्यसँगै आफ्नै केही पदाधिकारीले एक वर्ष सार्न अनुरोध गरेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी ९आईओसी० ले टोकियो ओलम्पिक एक वर्ष पर सारेको थियो। एक सय २४ वर्षको इतिहासमा ओलम्पिक खेलकुद पर धकेलिएको पहिलो पटक हो। यसअघि सन् १९१६, १९४० र १९४४ मा तय भएको ओलम्पिक खेलकुद विश्व युद्धका कारण रद्द भएको थियो।