किशोर सापकोटा

म्यासेन्जरमा आमाको मुख हेरेपछि मध्यरातमा यो त्रासदीपूर्ण कहानी भन्न वसेको छु (आमा आफै पनि यतिवेला नेपालमा जारी लकडाउनको कारण विराटचोकमा अड्किनु भएको छ ) । अधिकांस नेपालीजनहरु आमाको मुख हेरेर सुखानुभूति गरिरहेको वेला यो त्रासदीपूर्ण कथा सुनाऊ कि नसुनाऊ धेरैवेर दुविधा नभएको होइन, तर सोचे सत्य कुरा त भन्नैपर्छ । नेपालभन्दा करिव ८ हजार माइल टाढा रहेको अमेरिकामा अव कसरी त्रासदीपूर्ण दिनहरु आउंछन् भनेर वुझाउन प्रयास गर्छु ।

यतिवेला अधिकांस अमेरिकावासीहरु हरेक क्षण वा कम्तिमा दैनिक एक पटक मरिरहेका मानिसहरु र संक्रमितहरुको आंकडा हेर्छन (समाचारमा कोरोना वाहेक अरु केही पनि त छैन ) । कतिपयले त तथ्यांक हेर्न पनि छाडिसके । यो उनीहरुको आफुलाई निरास हुनवाट जोगाउने अस्थायी विधिमात्रै हो । कतिपय मानिसहरु कोरोनाले मलाई वा मेरो परिवारलाई कहिले भेट्ला भनेर चिन्ता गरेर वसेका छन् । कोरोनावाट वच्न हजार सावधानी अपनाएका व्यक्ति वा परिवारहरु दिनदिनै कोरोना संक्रमणवाट गुज्रिरहेका छन् । कहांकहांवाट मात्रै जोगिने ? अवस्था अत्यासपूर्ण भइसकेको छ ।

कतिपय मान्छेहरु भने अजीव हुंदा रहेछन् । उनीहरु सोच्छन् र खुल्ला रुपमा नै भन्छन् – यो वुढावुढी र रोगीलाई लाग्ने रोग हो, हामीलाई वालमतलव । ‘हामीलाई वालमतलव’ भन्ने वर्गले तथ्यांकलाई विर्सिदिन्छन् किनकी कोरोना भाइरस संक्रमणवाट मृत्यु भएका करिव ५० हजार मानिसमा वृद्ध र रोगी मात्रै छैनन् । अहिले युवा र वालवालिकाको पनि कोरोना संक्रमणवाट मृत्यु भइरहेको छ । अमेरिकामा पछिल्लो समयमा अरु कुनै विराम नभएका ३० देखि ४० वर्षका उमेर समुहका कोरोना संक्रमित मानिसहरुको हृदयघातका कारण निधन भइरहेको छ किनकी कोरोना संक्रमणले उनीहरुको रगत अचानक जम्ने (व्लड क्लट) हुने गरेको पाइएको चिकित्सकहरुले वताएका छन् । कतिपय युवावस्थाका मानिसहरुले हृदयघातको लक्षण देखिंदासम्म पनि अस्पतालमा झन् भयावह अवस्था हुने ठानेर आपतकालिन सेवालाई नवोलाउंदा मृत्यु हुन पुगेको चिकित्सकहरुले वताएका छन् । न्यूयोर्कको माउन्ट सिनाइ हेल्थ सिष्टमका चिकित्सक डा. तमस अस्लेले भनेका छन्, कोरोना भाइरस संक्रमणको कारण व्लड क्लट भएर मर्नेहरु सवै ५० वर्ष मुनिका छन् ।

मर्नेहरु मरेर गइसके । संक्रमितहरु घरमा वा अस्पतालमा छन् । तर अहिले कुनै अनुमान गर्न पनि सकिदैन अव कति मर्छन र कति संक्रमित हुन्छन् । विश्व स्वास्थ संगठन (डव्लुएचओ)ले प्रष्ट शव्दमा भनेको छ, कोरोना भाइरस विरुद्धको खोप नवन्दासम्म यो रोग नियन्त्रण गर्न संभव छैन । सवै अध्ययनहरुले देखाइसकेको छ, कोरोना विरुद्धको खोप आउन १ देखि ४ वर्षसम्म पनि लाग्न सक्छ । यो अवधिमा कोरोना संक्रमण कति वढ्ला ? कति मानिसहरु मर्लान ? अमेरिकाको रोग रोकथाम तथा नियन्त्रण केन्द् (सीडीसी)ले वुधवार भन्यो, कोरोनाको दोेश्रो लहर अझै भयावह हुनेछ । कोरोनाको दोश्रो लहर अमेरिकामा जाडो सुरु भएसंगै फ्लुसंग जोडिएर आउनेछ । यसै त अहिले पनि कोरोना नियन्त्रणको कुनै लक्षण छैन भने अर्को लहर थपिंदाको परिणाम के होला ? अक्टोवर -नोभेम्वर पछि सुरु हुने जाडोमा संक्रमण कति फैलिएला ?

धेरै मानिसहरुको अहिले भरोसाको केन्द्र भनेको अग्रपंक्तिमा रहेर स्वास्थ सेवा दिइरहेका चिकित्सक र नर्सहरु नै हुन् । औषधिविनाको लडाइ उनीहरुले कति लड्न सक्लान ? मानवीय क्षतिप्रति अलिकति पनि सरोकार नराख्ने र व्यापारीहरुको स्वार्थमा चल्ने राष्ट्रपतिको शासकीय पद्धतिभित्र रहेर कसरी सेवा दिन सक्लान् ? चिकित्सक र नर्सहरुका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) समेत सकिंदै गएको अवस्थामा कसरी उनीहरु आफ्नो उत्तरदायित्व निभाउन सक्लान ? न्यूयोर्कमा एउटै परिवारका चिकित्सक वावुछोरीको मृत्यु भएको देख्दा उनीहरुलाई कस्तो महसुस भएको होला ? आफुसंगै काम गरिरहेका स्वास्थकर्मीहरुको निधन हुंदा उनीहरुको मनोविज्ञान कस्तो भएको होला ?

सवै समग्र अवस्था हेरिसक्दा प्रश्न उठ्छ अव केही विकल्प वांकी छैन त ? सत्य यही हो, जवसम्म खोप वन्दैन, अमेरिकाले कोरोनालाई पराजित गर्न सक्दैन । कोरोना आफ्नो कोर्षमा अगाडि वढ्छ, अमेरिका आफ्नो कोर्षमा अगाडि वढ्छ । यसमा कति मानिस संक्रमित हुन्छन् र कति मर्छन अनुमान गर्नु निकै कठिन हुन्छ ।

एउटा सत्य कुरा के हो भने सामाजिक दुरी (सोसियल डिस्टेन्स) कायम गर्दा संक्रमणको क्रम केही कम भएको छ तर रोकिएको छैन । अमेरिकाको मनोविज्ञान वुझ्नेहरु प्रष्ट छन्, आज होस वा भोली, कोरोना संक्रमण नसकिंदै अमेरिका पुन खुल्ला हुनेछ वा खुला हुन वाध्य हुनेछ । स्टे एट होम आदेश जारी गरेर अमेरिकी जनतालाई पाल्न र डुवेका व्यवसायलाई राहत दिन त्यति सहज नहुने प्रारम्भिक नतिजाहरुले देखाइसकेका छन् । जुनवेला अमेरिका पुन खुल्नेछ, त्यो वेला सोसियल डिस्टेन्स कायम हुन सक्नेछैन । हरेक मानिसलाई मुखमा मास्क लगाउन वाध्य पार्न सकिने छैन । (मुखमा मास्क लगाउंदैमा र सोसियल डिस्टेन्स कायम हुंदैमा कोरोना नियन्त्रण नहुने रहेछ भन्ने जापानवाट सिक्न सकिन्छ किनकी जापानमा अधिकांस मानिसहरु मास्क लगाउंछन् र अभिवादन गर्दा हात पनि मिलाउंदैनन तथापि कोरोना संक्रमण वढी रहेको छ) ।

अमेरिकी समाजमा कोरोनाले मानिसको मनोविज्ञानमा नराम्रो गरी प्रहार गरेको छ । आफ्नै परिवारका सदस्यहरुवीचमा आशंका वढ्दै गएको छ । हाम्रै परिवारको कुरा गर्ने हो भने हामी तरकारी रोप्न वारी जांदा समेत प्रत्येक सदस्यले आआफ्ना कार लिएर जान्छौं । घरभित्र एकले अर्कोसंगको निश्चित दुरी कायम राख्छौं । एउटै कारमा यात्रा गर्नुपर्ने वाध्यता नै भयो भने पनि सवैले मास्क लगाउंछौ । सकिए जति जोगिने न हो । हातमा स्यानीटाइजर प्रयोग गर्दागर्दा हात सवै फुटिसकेका छन् । हामी कोरोना संक्रमण नहुंदै यति आतिएका छौ भने संक्रमण हुनेहरुको मनोविज्ञान निकै डरलाग्दो रहेको छ । सीएनएनले केही दिन एउटा अध्ययनको समाचार लेखेको थियो, जुन अध्ययनले देखाउंछ, कोरोना भाइरस संक्रमण भएर अस्पताल भर्ना भएका धेरै विरामीलााई अव आफन्त समेत भेट्न नपाइ मरिने भइयो भन्ने चिन्ता हुंदो रहेछ । अमेरिकाका अस्पतालहरुमा कोरोना संक्रमण आक्रमण रुपमा सुरु भएपछि विरामी कुरुवा जान प्रतिवन्ध लगाइएको छ ।

कोरोना संक्रमण भएका तर अस्पतालमा ठाऊं नपाएका धेरै मानिसहरुलाई एक प्रकारको निराशाको अवस्था छ, अस्पतालमा ठाऊ पनि पाइएन, वांचिएला कि नवाचिएला ? यो चिन्ता पनि स्वभाविक छ, न्यूयोर्क शहरमा मात्रै ४ हजार भन्दा वढी कोरोना संक्रमितहरुले घरमा नै मृत्युवरण गर्न पुगे । यसरी घरमानै मृत्युवरण गर्नेहरुमा केही नेपाली पनि परे । अमेरिकाका धेरै गभर्नरहरु र अस्पताल प्रशासनको एउटै गुनासो रह्यो, हामीलाई उपचारका लागि यथेष्ट वेड र भेण्टीलेटर भएनन् । तर भेण्टीलेटर प्रयोगवाट पनि त्यति उत्साहजन परिणामहरु भने आएनन् । न्यूयोर्कको एउटा ठुलो अस्पताल नर्थवेल हेल्थमा भर्ना भएका विरामी मध्ये २० प्रतिशत विरामीको मृत्यु भयो तर डरलाग्दो तथ्यांक त यो छ कि उपचारका लागि भेण्टिलेटर प्रयोग गर्ने ८८ प्रतिशत विरामीको मृत्यु भएको छ । त्यसैले,अस्पतालमा भेण्टीलेटर पाउंदैमा मानिस वच्न सकिदैन ।

कोरोना संक्रमणवाट एकवाट अर्कोमा सर्छ । यो सत्य हो । यदि अरुवाट आफुमा सर्न नदिने वातावरण वनाउन सक्यौ भने हामी वांच्न सक्छौ । यो पनि सत्य हो । तर कोरोना संक्रमण सुरु भयो भने यसलाई जित्न सकिन्छ भन्ने कुनै आधार छैन । जर्मन चान्सलर एन्जेला मार्केलले संसदमा आफ्ना भनाइ राख्दै भनेकी छिन्, ‘कोरोना भाइरस संक्रमणको यो अन्त नभै सुरुवात मात्रै हो, हामी लामो समय कोरोना भाइरससंगै वांच्नेछौं’ । अमेरिकाको अवस्था ठ्याक्कै मार्केलको भनाइसंग मिल्छ। संसारलाई तवाह वनाउंदै गएको कोरोनाको विषयमा अझै केही मानिसहरुको मनमा गम्भीरता देखिंदैन, अमेरिकाका त्रासदीपूर्ण दिनहरु हेरेर सचेत वनौं ।

(पत्रकार किशोर सापकोटाको फेसवुकवाट)