हेटौँडा, । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस मानव जातिका लागि मुख्य शत्रु भएर आएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज हेटौँडामा आयोजित कोरोना कोभिड–१९ सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचारसम्बन्धी सर्वदलीय बैठकमा मुख्यमन्त्री पौडेलले कोरोना भाइरसका कारण आगामी दिनहरु झन् चुनौतीपूर्ण हुनसक्नेतर्फ सचेत हुनुपर्ने उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले कोरोनाविरुद्ध प्रदेशमा सुरक्षा निकाय र स्वास्थ्यकर्मी निरन्तर रुपमा खटिरहेको बताउनुभयो । अहिले प्रदेशको साधनस्रोत र क्षमताअनुसार काम गरिरहेको उहाँको धारणा थियो । उहाँले चुनौतीबीच पनि सुरक्षा निकाय र स्वास्थ्यकर्मीले गरेको कामको प्रशंसा गर्नुभयो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री एवं कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिका संयोजक शालिकराम जम्मकट्टेलले आफ्नो संयोजकत्वमा गठित समितिले गरेको कामहरुको जानकारी दिँदै सरकारले प्रदेशका सबै जिल्लाका स्थानीय तहहरुलाई कोरोनाविरुद्ध काम गर्नका लागि रकम पठाइसकिएको जानकारी दिनुभयो । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवं बजार अनुगमन तथा नियन्त्रण समितिका संयोजक अरुणप्रसाद नेपालले प्रदेशभरि दैनिक उपभोग्य सामानको आपूर्तिमा समस्या नरहेको वताउनुभयो । उहाँले बजारमा हुनसक्ने कालोबजारी नियन्त्रण गर्नका लागि सहायक प्रजिअको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेशमा ६ सय श्ययाभन्दा बढी आइसोलेशन र चार सयभन्दा बढी सघन उपचार कक्ष निर्माण भइसकेको जानकारी दिनुभयो । उहाँले आपत्कालीन रुपमा चाहिने पिपिई, मास्कलगायत सबै प्रकारका सामग्री स्टोर गरिएको पनि जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य तथा नेकपाका केन्द्रीय सदस्य विरोध खतिवडाले लकडाउनमा विपन्नलाई राहत वितरण गर्दा धेरै नै सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँले भीड गराएर राहत वितरण गर्नु नहुने बताउँदै कुपनमार्फत नजीकैको खाद्य स्टोर्सबाट राहत प्राप्त गर्न सकिने व्यवस्था गर्दा उचित हुने धारणा राख्नुभयो ।

बैठकमा प्रदेशका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँले राहत वितरणमा एकद्वार प्रणाली अपनाइनुपर्नेमा जोड दिनुभयो । अहिलेको सन्दर्भमा दुर्गम र विकट ठाउँमा राहतको आवश्यकता हुन थालेको भन्दै सो स्थानमा राहत पठाउन सुझाव दिनुभयो । बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँल, भूमि व्यावस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामा, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रदेशका प्रमुख सचिव तोयम राय, नेकपा मकवानपुरका सहइन्चार्ज रामेश्वर राना, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायतका मन्तव्य राख्नुभएको थियो ।