काठमाडौं । अर्थ मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको जनाएको छ ।

अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयका सहसचिव धनीराम शर्माले जानकारी दिनुभयो ।
‘मेडिकल उपकरणहरु किनेर अस्पतालहरुको स्तरोन्नति गर्न यो रकम खर्च हुन्छ,’ उहांले भन्न्ुभयो– ‘अहिलेसम्म स्वास्थ्यलाई वार्षिक स्वीकृत बजेटभन्दा थप रकम दिनुपरेको छैन ।’

त्यसैगरी ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा पनि ५० करोड रुपैयाँ बजेट दिइएको छ । चीनबाट नेपाली विद्यार्थीहरुलाई उद्धार गरेर क्वारेन्टाइनमा राख्दा १३ करोड रुपैयाँ खर्च भएको थियो ।