चिप्लेढुङ्गा । कास्कीको रुपा गाउँपालिकामा कोरोना सङ्क्रमण भित्रिन नदिन विशेष सतर्कता अपनाएको छ । रुपाले आफ्नै लगानीमा २५ शय्याको क्वारेन्टाइन तयार गरेर विशेष सतर्कता अपनाएको हो । अहिले उक्त गाउँपालिकाले विदेशबाट आएका २१ व्यक्तिलाई क्वारेन्टाइनमा राखेको छ ।
गाउँपालिकाका अध्यक्ष नवराज ओझाले भन्नुभयो “आफ्नो गाउँपालिकामा कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन र सबै नागरिकलाई सुरक्षित राख्न पहिलो दायित्व सम्झी क्वारेन्टाइन निर्माण गरेर रोकथामको प्रारम्भिक कार्य शुरु गरेका हौँ ।” क्वारेन्टाइनमा राखिएका सबैलाई खानेबस्ने साथै स्वास्थ्य परीक्षणलगायत सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोरेको छ । “२५ सेट शय्या, खाना, फलफूल, औषधि, स्वच्छ खानेपानीसहित सम्पूर्ण सामग्री गाउँपालिकाले व्यवस्था गरेको छ ।”
हालै क्वारेन्टाइनमा राखिएकामध्ये ५५ वर्षीय व्यक्तिको मृत्यु भएपछि धेरै आशङ्का उब्जिएको बताउँदै ओझाले भन्नुभयो “मान्छेमा त्रास छ, क्वारेन्टाइनमा राखेको व्यक्तिको मृत्युले धेरैले कोरोना सङ्क्रमित भएको भन्ने आशङ्का गर्नुभयो तर उहाँ लामो समयदेखि दम, प्रेसर, मुटुको बिरामी हुनुहुन्थ्यो र पाँचथरि औषधि सेवन गरिरहनुभएको थियो । उहाँमा कोरोनाको कुनै पनि लक्षण देखिएको थिएन तर पनि उहाँको स्वाब परीक्षणका लागि टेकु अस्पताल काठमाडौँ पठाएका छौ, रिपोर्ट आएको छैन ।” उहाँ हालै भारत हैदराबादबाट फर्कनुभएको थियो ।
अध्यक्ष ओझाले क्वारेन्टाइनमा राखिएकामध्ये कसैलाई पनि अहिलेसम्म कोरोना भाइरसको लक्षण नदेखिएको बताउनुभयो । गाउँपालिकामा सात वडा र करीब २० हजार जनसङ्ख्या छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले अहिले दैनिक सात स्वास्थ्यकर्मीलाई घरघरमा कोरोना सङ्क्रमणबाट जोगिने उपायबारेमा जानकारी दिन स्वास्थ्यकर्मी परिचालन गरिएको र विदेशबाट आएकाहरुलाई भने विशेष निगरानी गरिएको बताउनुभयो । स्वास्थ्यकर्मीका लागि गाउँपालिकाले नौ थान पिपिइ ९व्यक्तिगत सुरक्षा उपकरण० खरीद गरेको तथा गाउँमा मास्क र सेनिटाइजर पनि वितरण गरेको पोखरेलले जानकारी दिनुभयो ।
गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एक युवकले आफूहरु क्वारेन्टाइनमा सम्पूर्ण व्यवस्थासहित बसेको बताउनुभयो । “यो मलाई मात्र नभई मेरा आफन्त, इष्टमित्र, साथीभाइका लागि पनि हो, गाउँपालिकाको यो कदम निकै सकारात्मक छ ।” अहिलेको अवस्थामा लुकेर ढाँटेर होइन सरकारको निर्देशन पालना गरेर आफू पनि जोगिनुपर्ने र अरुलाई पनि जोगाउनु पर्ने उहाँको भनाइ छ ।
अन्नपूर्णका सात स्थानमा क्वारेन्टाइन
कोभिड १९ सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि कास्कीको अन्नपूर्ण गाउँपालिकाले पालिका क्षेत्रभित्रका सात स्थानमा क्वारेन्टाइन बनाएको छ । गाउँपालिकाले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्ले, हिमालयन देउराली रिसोर्ट सिम्पाली, माछापुच्छे« मावि ढिकुरपोखरी, प्रगतिशील मावि सल्यान, सङ्गम मावि लुम्ले, दाङसिङस्थित वीरेठाँटी मावि र घान्द्रुकको मेश्रमबराह माविमा क्वारेन्टाइन बनाएको हो ।
कृषि अनुसन्धान केन्द्रमा ५०, हिमालय रिसोर्टमा ३० तथा विद्यालयमा २५ –२५ शय्याका गरी कुल २०५ शय्याको क्वारेन्टाइन निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मीमार्फत सचेता फैलाउँदै
घरमा नै सेल्फ क्वारेन्टाइनमा राख्ने र कोही शङ्कास्पद सङ्क्रमित भेटिएमा तोकिएका स्थानमा राख्ने गरी तयारी भएको अधिकारीले जानकारी दिनुभयो । सरकारले लकडाउन गर्नुअघि वैदशिक रोजगारीबाट कूल १७ मानिस गाउँपालिका आएको र उनीहरुको पहिचान भई अहिले सेल्फ क्वारेनटाइनमा रहेको गाउँपालिका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।