रोल्पा, । रोल्पा अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि प्रयोग गरिने मेडिकल सामग्री उपलब्ध नभएको गुनासो आइरहेका बेला रोल्पा नगरपालिकाले मेडिकल सामग्री अस्पतालाई प्रदान गरेको छ । नगरप्रमुख पूर्ण केसीले अस्पतालका प्रमुख डा धनमाया घर्तीलाई ती सामग्री प्रदान गर्नुभयो ।
नगरपालिकाले स्वास्थ्यकर्मीका लागि आवश्यक पिपीइ सेट पाँच, बेडसिट पाँच थान, फलामको बेड, सिरानी, सर्जिकल पञ्जा, स्यानिटाइजर, आइभी क्यानुलालगायतका सामग्री हस्तान्तरण गरिएको छ ।

“हाल ११ थरिका सामग्री हस्तान्तरण भयो, निकट भविष्यमा थप थान वेडसिट आउने तयारीमा छ”, नगर प्रमुख केसीले भन्नुभयो । जिल्ला अस्पतालमा मेडिकल सामग्रीको अभाव रहेको चिकित्सकहरुबाट गुनासो आउन थालेपछि यसअघि रोल्पा उद्योग वाणिज्य सङ्घ र निर्माण व्यवसायी सङ्घ रोल्पाले १००÷१०० थान मास्क हस्तान्तरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाले १५ थान कम्बल, पाँच थान म्याट्रिक्स र १०० थान मास्क हस्तान्तरण गरेको थियो ।

यसअघि रोल्पा अस्पतालका चिकित्सकले कोरोना सङ्क्रमणको आशङ्का गरिएका बिरामी जाँच गर्दा लगाउने मेडिकल सामग्री नभएको गुनासो गरेका थिए । उनीहरुले आइसोलेसन कक्षभन्दा पहिला स्वास्थ्यकर्मीका लागि मेडिकल सामग्रीको जरुरी रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।