ललितपुर । चिकित्सहरुले कोरोना भाइरस (कोभिड —१९) संक्रमणको शंका लागेका र अन्य विरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्न नहुने बताएका छन् । संक्रमित त्यस्ता विरामीको उपचार आइसोलेसन सेन्टरमा राखेर गर्नुपर्ने बताएका छन् । त्यस्ता बिरामीको उपचार अरु विरामी सरह जुनसुकै अस्पतालमा राखेर गर्दा संक्रमण फैलन सक्ने स्पष्ट पारेका छन् । सरकारले ‘अस्पताल पिच्छे कस्तो तयारी छ , कति बेड छुट्याउनु भएको छ’ भन्दै प्रश्न गर्नु अनुचित भएको उनीहरुको दाबी थियो ।
ललितपुर महानगरपालिकाले महानगरभित्रका अस्पतालका चिकित्सकहरुसँग कोरोना भाइरससँग सम्बन्धित विषयमा छलफल गर्न शुक्रवार आयोजना गरेको कार्यक्रममा उनीहरुले त्यस्तो कुरा बताएका हुन् । अन्य रोगका विरामी र कोरोना संक्रमण देखिएका बिरामी एउटै अस्पतालमा राखेर उपचार गराउँदा त्रास उत्पन्न हुन सक्ने औल्याए । साथै अन्य बिरामीलाई संक्रमणबाट सुरक्षित राख्न समेत चुनौतिपूर्ण हुने बताए । उनीहरुले ललितपुर महानगरपालिकालाई आइरोलेसन सेन्टरका लागि महानगरभित्र छुट्टै भवन खोज्न अनुरोध गरे । उनीहरुले पर्यटक शून्य भएकाले हाललाई होटेलहरुलाई त्यस्तो केन्द्रको रुपमा विकास गर्न सकिने बताए ।
पाटन अस्पतालका मेडिकल डाइरेक्ट डा इमरान अन्सारीले त्यस्ता बिरामीलाई राख्न फरक फरक ठाउँको व्यवस्था गर्नुपर्ने बताए । पाटन अस्पतालमा उपचारका लागि पठाइएका केही बिरामीलाई आइसोलेन वार्ड, र आइसोलेन बेड बनाएर परीक्षण गरेको बताए । उनले भने, ‘ उहाँहरुमा कोरोना भाइरस देखिएन, उपचार पछि फर्किनु भयो । ’ पाटन अस्पतालले परीक्षणका बेला धेरै सावधानी अपनाएको बताउँदै संक्रमति सहित सबै खालका बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्नु चुनौतिपूर्ण भएको बताए ।
नेपाल क्यान्सर अस्पतालका दिलीप कुमार श्रेष्ठले कोभिड १९ को उपचार गर्न छुट्टै अस्पताल बनाउनुपर्ने बताए । उनले एउटै अस्पतालमा राखेर उपचार गर्दा जोखिम उठाउनु पर्ने स्पष्ट पारे ।
नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरका प्राध्यापक श्यामकृष्ण जोशीले सबै राखका बिरामीलाई एउटै अस्पतालमा राखेर उपचार गर्नु खतरनाक भएको बताए । उनले चिकित्सक र चिकित्साकर्मीके सुरक्षा समेत महत्वपूर्ण सवाल भएको दाबी गरे ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सावधानीका उपायबारे नगरवासीलाई सचेत बनाएको बताए । उनले आइसोलेसन सेन्टर बनाउन भवन खोज्ने प्रयास गर्ने जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख गीता सत्याल , सल्लाहकारहरु प्रफुल्लमान सिंह प्रधान, दिलेन्द्रराज श्रेष्ठको उपस्थिति थियो । मानसिक अस्पतालका निर्देशक मोहन श्रेष्ठ मेडिसिटी अस्पतालका नरेन्द्र तिमल्सिना, वि एण्ड वीका प्रकाश भट्टराई लगायतले अन्तराष्ट्रिय अभ्यासलाई नै आधार मान्ने हो पनि छुट्टै ठाउँ बताउनु पर्ने धारणा राखेका थिए ।