वीरगञ्ज, । आगामी चैत ६ गतेदेखि सञ्चालन हुने एसइई परीक्षाका लागि तयारीमा रहेका सञ्जय पटेल टुकी बालेर पढाइ गर्न बाध्य हुनुहुन्छ । पकहामैनपुर गाउँपालिका–१ धोरेगाउँका पटेल जस्तै करिब दुई सय विद्यार्थी टुकीकै सहारामा एसइईको तयारी गरिरहेका छन् ।

त्यहाँ रहेको धोरे विद्युत् उपभोक्ता समितिले ६०१ ग्राहकसँग विद्युत् खपत बापतको रकम उठाएर पोखरीया वितरण केन्द्रलाई नबुझाएका कारण लाइन काटिएपछि यस्तो अवस्था आएको स्थानीयवासी विनोदकुमार मेहताले गुनासो गर्नुभयो । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरियाले गत माघ १५ गतेदेखि लाइन काटेपछि त्यस भेगका करिब आठ हजार व्यक्ति अँध्यारोमा बस्न बाध्य भएका छन । धोरे विद्युत् उपभोक्ता समितिले रु ८२ लाख बक्यौता रकम बुझाउन नसक्दा लाइन काटिएको पोखरिया वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रअन्तर्गत रहेका विद्युत् उपभोक्ता समिति र ग्राहकसँग गरी करिब रु २३ करोड बक्यौता रकम असुल गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । केन्द्रबाट प्राप्त विवरणअनुसार २९ विद्युत् उपभोक्ता समितिमध्ये १२ उपभोक्ता समितिसँग रु दुई करोड ४५ लाख ५५ हजार रकम बक्यौता रहेको छ । जसअन्तर्गत ३३ हजार ४६८ ग्राहकमध्ये दुई हजार २६३ ग्राहकसँग बाँकी रहेको रु दुई करोड ४४ लाख २९ हजार रकम असुल गर्न बाँकी रहेको केन्द्रका प्रमुख उपेन्द्रनारायण यादवले बताउनुभयो ।

केन्द्रले ग्राहकसँग बाँकी रहेको बक्यौता रकम उठाउन साप्ताहिक रुपमा लाइन काट्न थालेपछि सो बक्यौता रकम असुल्ने काम भइरहेको भन्दै केन्द्रप्रमुख यावदले भन्नुभयो, “विद्युत् चुहावट गर्ने ५३ को लाइन काटी माघ महिनामा रु सात लाख रकम जरिवानास्वरुप उठाइएको छ ।”

पोखरिया नगरपालिकासहित १३ स्थानीय तह हेर्ने प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा कडाइ गरेपछि ४२ प्रतिशतबाट चुहावट झरेर ३५ प्रतिशतमा आएको छ । “हामीले धोरे उपभोक्ता समितिलाई बारम्बार बक्यौता रकम बुझाउन पत्राचार गरे पनि अटेर गरेकाले लाइन काटिएको हो”, केन्द्रप्रमुख यादवले भन्नुभयो, “लाइन काटेको १५ दिनसम्म रकम नबुझाएकाले सो बारेमा सामुदायिक ग्रामीण विद्युतीकरण विभाग काठमाडाँैलाई पत्राचार गरेका छौँ ।”

ग्रामीण क्षेत्रमा व्यापक रुपमा विद्युत् चुहावट हुन थालेपछि यसलाई रोक्न उपभोक्ता समितिको जिम्मा दिने भनेर सरकारले २०६२÷६३ सालतिर यस्तो नीति ल्याए पनि उपभोक्ता समितिले राम्ररी चलाउन नसकेको हो । प्राधिकारणले उपभोक्ता समितिलाई प्रतियुनिट रु छ मा विद्युत् बेच्ने गरेको छ भने उपभोक्ता समितिले त्यही विद्युत् आफ्ना ग्राहकलाई प्रतियुनिट रु १० देखि रु १५ सम्ममा बिक्री गरी आर्थिक लाभ लिने गरेको भए पनि उठाएको रकम समयमा प्राधिकारणलाई बुझाउन नसक्दा अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी सुनिलकुमार चौहानको गुनासो छ ।