काठमाडौ । नेपाल प्रहरीमा महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे उमेरहदबाट अवकाश पाएसंगै अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्नेतले पनि ३० वर्ष उमेरहदको कारण अवकाश पाएका थिए र अहिले यही कारणले गर्दा नेपाल प्रहरीमा ३ जना अतिरिक्त महानिरीक्षकको पद रिक्त रहेको छ । रिक्त रहेको ३ अतिरिक्त महानिरीक्षकमा ठाकुरप्रसाद जवालीका ब्याची नायब महानिरीक्षक तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय वरिष्ठताको आधारमा बढुवा हुने स्थिति रहेको छ । अर्को एक अतिरिक्त महानिरीक्षका निम्ति भने नायब महानिरीक्षकहरू शैलेन्द्र थापा, हरि पाल निरज शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेलका बीचमा कडा प्रतिस्पर्धा भइराखेको छ । यही कारणले गर्दा नै सरकारले तीन अतिरिक्त महानिरीक्षकको बढुवाका सम्बन्धमा निर्णय गर्न सकिराखेको छैन । किनभने यी पाँच नायब महानिरीक्षकको अतिरिक्त महानिरीक्षकमा जसको बढुवा हुन्छ, उसैले ठाकुर ज्ञवालीले अवकाश पाएपछि नेपाल प्रहरीको नेतृत्व गर्नेछ। ३० बर्षे उमेरहदको कारण महानिरीक्षक ज्ञवालीसँगै उनका ब्याची तारणी लम्साल र सूर्य उपाध्यायले पनि आगामी २०७७ असार २४ गते अनिवार्य अवकाश पाउने छन् । त्यस अवस्थामा अर्का अतिरिक्त महानिरीक्षक, ज्ञवालीको स्थानमा नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा हुनेछन् । पाँच महिनापछि २०७७ असार २५ गतेबाट नेपाल प्रहरीको नेतृत्वमा पुग्ने भएकै कारणले गर्दा अहिले नायब महानिरीक्षकहरू थापा, पाल, शाही, कार्की र पोखरेलका बीचमा अतिरिक्त महानिरीक्षकमा बढुवा हुनका लागि तीव्र प्रतिस्पर्धा भइराखेको छ र यसका निम्ति उनीहरूले बिभिन्न शक्ति केन्द्र धाउने क्रमलाई निरन्तरता दिएका छन ।

साघु साप्ताहिकबाट