जनकपुरधाम, । अनेकतामा एकताको विशिष्ट उदाहरण रहेको मिथिला परिक्रमा आजदेखि शुरू भएको छ । पन्ध्रदिने उक्त परिक्रमा मेला फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन सम्पन्न हुन्छ ।
मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यात्रा गर्नाले अनन्त फल प्राप्त हुनुका साथै मुण्डन, एकाध साँझ उपवास र बास बसेमा लाभ हुने विश्वास पनि महात्म्यमा उल्लेख छ । नेपालका कुनाकाप्चा तथा भारतलगायत अन्य राष्ट्रका श्रद्धालुसमेत मिथिला क्षेत्रको यात्रामा सहभागी हुने गर्दछन् ।
‘जय सिया राम, जय सीताराम’ को ध्वनि घन्काउँदै झ्याली, ढोलक, डमरू, करतल ध्वनिसँगै श्रद्धालुहरू श्री मिथिलाबिहारीका डोलाका पछिपछि श्रद्धाभक्तिका साथ परिक्रमा गरिहेको दृश्यले जोकोहीलाई मोहित पार्छ । सामान्य अर्थमा परिक्रमा भन्नाले कुनै व्यक्ति, देवमूर्ति र पवित्रस्थललाई केन्द्र मानी श्रद्धापूर्वक चारै दिशामा सुनिश्चित भूभागमा घुम्ने धार्मिक क्रियाकलाप हो । हिन्दू धर्म, संस्कृति र परम्परामा यसको ठूलो महत्व रहेको छ । परिक्रमालाई प्रदक्षिणा पनि भनिन्छ । प्रदक्षिणाको परम्परा अति प्राचीन मानिन्छ । यसलाई षड्शोपचार पूजाको अङ्ग मानिएको छ । वैदिककालदेखि नै परिक्रमाद्वारा श्रद्धालुले देवमूर्ति र पवित्रस्थललाई प्रभावित गर्न वा सम्मानका लागि यो कार्य गर्ने गरेको पाइएको छ ।
यज्ञ, मन्दिर, नदी, पवृत तथा व्यक्ति आदिको परिक्रमा पुण्यदायी हुने गरेको आस्था अनुरूप मिथिला परिक्रमाअन्तर्गत १३० किलोमिटरको क्षेत्रमा पदयात्रा गरिन्छ । परिक्रमा मेलामा सामेल भएमा पापबाट मुक्ति पाउने, रोगव्याधी निको हुने तथा जीवनको अन्त्यमा स्वर्ग प्राप्त हुने जनविश्वास छ । अत्यन्त निष्ठा, श्रद्धा र भक्तिपूर्वक नाङ्गै खुट्टा पदयात्रामा सामेल हुनेहरू ब्रह्मचर्य जीवन पालन गर्नुपर्ने हुन्छ ।

इतिहासकारका अनुसार यो परिक्रमा विसं १८१० मा प्रारम्भ भएको हो । पहिले यस मार्गमा जङ्गल थियो । हाल बस्ती रहेको छ । अचारी बाबाको सत्प्रयासले परिक्रममा पथ हाल सहज भएको बताइन्छ । अचारी बाबापछि उहाँका शिष्य लाडली शरण सो जिम्मेवारी सम्हाले । उहाँ कचुरी पठका महन्त थिए । त्यसैबेलादेखि परिक्रमाको मूल डोला कचुरी मठबाट शुरू हुने परम्पराको थालनी भएको हो । परिक्रमा पथको जटिलताका कारण केही वर्ष बन्द हुन गएकामा विसं १९६४ मा सीतामढीबाट आएका प्रेमलताले यसलाई पुनःप्रारम्भ गरेको प्रेमलता चरितममा उल्लेख गरिएको छ ।

यो परिक्रमाको डोला धनुषा जिल्लाको कचुरी गाउँको मिथिलाबिहारी मठबाट उठेर हनुमाननगरमा राति बास बस्दछ । त्यहाँ नित्यकर्म सकेर भजनकीर्तन गरी भगवान् सीतारामको पूजनपछि हनुमानमूर्तिको दर्शन र आशीष लिने चलन छ । परिक्रमा मेलामा जनकपुरधामको अग्निकुण्डबाट माता जानकी र कचुरी मठबाट भगवान् रामको डोलाको नेतृत्वमा १५ दिने परिक्रमा गरिन्छ । परिक्रमाका दोस्रो दिन हनुमाननगरबाट प्रस्थान गरी भारत बिहार प्रान्तको कल्याणेश्वर स्थानमा पुगेर कल्याणेश्वर महादेवको दर्शन गरिन्छ ।

भोलिपल्ट गिरिजास्थानका लागि प्रस्थान गरी राति बास बस्ने र अन्य दिनझैँ भक्तिभावमा लीन हुने चलन छ । प्राचीन समयमा जानकीमाता गिरिजास्थानमा रहेको कुण्डमा स्नान गरी गिरिजाको पूजाअर्चना गर्ने गरिएको विश्वास छ । गिरिजास्थानबाट महोत्तरी जिल्लाको मटिहानी बजारमा डोला प्रस्थान गर्छ । मटिहानी जानकीमाताको विवाहमा मटकोर गरिएको ठाउँले ख्यातिप्राप्त गरेको हो । मटिहानीमा उक्त दिन ठूलो मेला लाग्ने र सीमापारि मधवापुरबाटसमेत श्रद्धालु आउने गर्छन् ।

मटिहानीबाट परिक्रमाको डोला जलेश्वर प्रस्थान गर्छ । उक्त ठाउँमा भगवान् शङ्कर जलमा निवास गरेकाले पनि बेग्लै धार्मिक महत्व छ । पञ्चमी तिथिमा जलेश्वरबाट मडई भन्ने ठाउँमा परिक्रमा डोला बास बस्दछ । उक्त ठाउँ माण्डव्य ऋषिको बासस्थानले प्रख्यात छ । यहाँबाट धु्रवको तपोभूमि धु्रवकुण्ड पुगेर डोला कञ्चन वन पुग्दछ । उक्त ठाउँ इच्छावती गङ्गा र विरजा गङ्गाको सङ्गमस्थल रहेको छ । इच्छावती नदी भगवान् रामको होली उत्सव मनाउन सिर्जना भएको थियो ।

कञ्चन वनबाट परवतामा विश्राम गरिन्छ । यो स्थान पाँच पर्वतको सङ्गमस्थल रहेको छ । परवताबाट धनुषाधाममा परिक्रमाले विश्राम लिने र सो ठाउँमा श्रीरामले भाँचेका धनुषको टुक्रा खसेका कारण धनुष दर्शनका लागि पनि अनुकूल अवसर प्राप्त हुन्छ । दशमी तिथिमा सतोखर भन्ने ठाउँमा तीर्थालुहरू बास बस्छन् । यो स्थल सप्तऋषिको तपोभूमि रहेका कारण ख्याति कमाएको छ ।

त्यसपछि औरही, करूणा हुँदै पुनः कल्याणेश्वर स्थान भई बिसौलमा विश्राम गरिन्छ । यो स्थलमा विश्वामित्रको मन्दिरमा पूजापाठ गरिन्छ । चतुर्दशीका दिन उक्त ठाउँबाट डोला जनकपुरधाम आई विश्राम गरी भोलिपल्ट पूर्णिमाका दिन जनकपुरधामको अन्तगृह परिक्रमा गरी मेला सम्पन्न हुन्छ । परिक्रमा सम्पन्न भएको भोलिपल्ट यस क्षेत्रमा होली मनाइने परम्परा छ ।