हेटौँडा, । मकवानपुर जिल्लामा बालविवाह रोक्ने अभियानअन्तर्गत एक सातामा आठ जोडी बालबालिकाको विवाहमा रोक लगाइएको छ । बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता र सिविन बाल हेल्पलाइन मकवानपुरको पहल एवं सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा बालविवाह गर्नमा रोक लागाइएको हो ।

एक सातामा भीमफेदी गाउँपालिकामा ७ वटा बालविवाहमा रोक लगाइएको छ । यसै गाउँपालिकाका अध्यक्ष हिदम लामाले बालविवाह न्यूनीकरण नगरी बालमैत्री पालिका घोषणा गर्न नसकिले भएकाले सर्वप्रथम बालविवाहमा रोक लगाउन पालिकाको तर्फबाट कुनै कसूर बाँकी नराख्ने बताउनुभयो । बालविवाह मुक्त प्रदेश सहजकर्ता पविना लामा, सिविन बाल हेल्पलाइनका जिल्ला संयोजक झविन्द्र ज्ञवालीलगायतको सहभागितामा बालविवाह रोक लगाउन गाउँपालिका कै छलफलमा अध्यक्ष लामाले भन्नु भएको हो । लामाले छलफलमा बालबालिकाको अभिभावकसँग बालविवाहविरुद्ध सरकारी नीतिको जानकारी गराएर बालबालिका र अभिभावकलाई सचेत गराउनु भएको थियो ।