काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताउँदै भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको बताएका छन्।

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनपछि सांसदको प्रश्नको जवाफ दिँदै उनले पश्चिम नेपालका कालिनदीको मुहान, लिम्पियाधुरा र लिपुलेक क्षेत्र तथ्य प्रमाणले नेपालका भूभाग भएको बताए।

भारतसँगको सीमा विवाद समाधानका लागि के काम भइरहेको छ भन्ने सांसदको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने, ‘भारतसँग वार्ता गर्ने विषय एकपक्षीय भन्ने कुरा होइन। हामी मुलुकको भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा त तुरुन्तै छापिन्छ।’

संविधान संशोधनका सम्बन्धमा सोधिएको प्रश्नको जवाफका सम्बन्धमा उनले उपयुक्त समयमा र औचित्यका आधारमा संविधान संशोधन हुने बताए।

‘संविधान मानेर नै हामी सबै यहाँ आएका छौं। संविधान असंशोधनीय होइन । संविधानको संशोधन र स्वीकार्यता फरक फरक कुरा हो‘ उनले भने।

यसैगरी मुलुकमै रोजगारी सिर्जना भई १९ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले एनसेललाई दिइएको छुट अदालतको फैसला कार्यान्वयन मात्र गरेको बताए।

चीनका कोरोना भाइरस प्रकोप फैलिएका क्षेत्रमा रहेका नेपालीलाई नेपाल ल्याउन लागिएको छ । चीनबाट नेपाल ल्याउन लागिएका १८२ नेपालीलाई आइतबार बिहान २ बजेपछि नेपाल आइपुग्ने बताइएको छ । उनीहरूलाई भक्तपुरको खरिपाटीमा राख्ने तयारी भइरहेको छ ।

चीनबाट फर्काइन लागेका नेपाली नागरिकलाई भक्तपुरको खरिपाटीमा राख्नेबारे त्यहाँबाट निर्वाचित नेमकिपाका सांसद प्रेम सुवालले विरोध गर्दै आएका छन्। उनले यसअघि पनि संसदमा खरिपाटीमा चीनबाट फर्काइन लागेका नेपालीलाई राख्न नहुने बताए। चीनबाट फर्काइन लागेकालाई भक्तपुरमा राख्दा जोखिम निम्त्याउने उनको तर्क छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभामा सरकारका दुई वर्षका उपलब्धिका फेहरिस्त राखेपछि सांसद सुवालले प्रश्न सोधे, ‘जनता भन्दैछन्, भक्तपुरमा कोरोना भाइरसको क्वारेन्टाइनस्थल राख्नु र नगरकोटका सडक नबनाउनु नगरकोटको पर्यटनलाई समाप्त पार्नु हो। स्थानीय जनतालाई भगाउनु हो।’
भक्तपुरबाट निर्वाचित नेमकिपाका एकमात्र सांसदको प्रश्नको जवाफमा ओलीले भने, ‘भक्तपुर मेरो पनि जिल्ला हो, म त्यहीबस्छु।’

चीनबाट कोरोना भाइरसका बिरामी ल्याउन लागिएको होइन भनेर पनि ओलीले सुवाललाई सम्झाए। ‘कोरोना भाइरसका बिमारी नेपालले ल्याउन लागेको होइन। कुनै देशमा बिरामी भयो भने त्यो निको नभई ल्याउन पाइँदैन। हामीले त्यो बिमारले नछोएका विद्यार्थीहरूलाई ल्याउन लागेका हौं, जाँच गरेर ल्याउन लागिएको हो,’ उनले थपे, ‘बिमार छैन उनीहरूमा, तैपनी कथम कदाचित बाटोमा पनि संक्रमित भयो कि भनेर क्‍वारेन्टाइनमा राख्नुपर्छ।’
नेपाल फर्काइन लागेकालाई कहिँ न कहिँ त राख्नुपर्ने भन्ने ओलीको भनाइ थियो। उनले भने, ‘नेपालमा ७७ जिल्ला छन्, कहिँ त राख्नुपर्ला! अनि डाक्टर पनि नभएको, अस्पताल पनि नभएको ठाउँमा लगेर राख्न त भएन। अलिकति अनुकूलता, सुविधा भएका ठाउँमा राख्नुपर्‍यो।’
सुवालले भक्तपुरमा राख्नै नहुने भन्ने तर्कको जवाफलाई इंगित गर्दै ओलीले भने, ‘मेरो जिल्लामा राख्न हुन्न भनेपछि कुन जिल्लामा राख्‍ने? भक्तपुर मेरो पनि जिल्ला हो, म पनि त्यही बस्छु। त्यसकारण मैले अरु जिल्लामा पठाउँदा विवाद होला भनेर मेरै जिल्लामा राख्‍न लागेकोहो।’