काठमाडौं- विशेष अदालतले ललिता निवास जग्गा घोटाला प्रकरणमा थप ७ जनाविरुद्ध अदालतमा उपस्थित हुन म्याद जारी गरेको छ। अदालतका प्रवक्ता पुष्पा पाण्डेका अनुसार १५ दिनभित्र विशेष उपस्थित हुने गरी म्याद पठाइएको हो। यसअघि विशेषले भ्रष्टाचार मुद्दा खेपेका भूमिसुधार विभागका तत्कालीन महानिर्देशकसहित ७ जनालाई १५ दिने म्याद जारी गरेको थियो।

विशेषले शुक्रबार भूमिसुधार तथा व्यवस्था विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्याय, शाखा अधिकृत इन्द्रप्रसाद ढुङ्गाना, मालपोत कार्यालय डिल्लीबजारका प्रमुख टिकाराम घिमिरे, मालपोत कार्यालयका सुब्बा टीकाबहादुर बिसी, मालपोत कार्यालय काठमाडौंका खरिदार जीवनाथ पोखरेल, समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख अर्जुनप्रसाद भण्डारी र मालपोत कार्यालय डिल्लीबजारका नासु श्रीहरि पुडासैनी छन्।

काठमाडौं नापी कार्यालयका तत्कालीन नापी अधिकृत मोहम्मद साविर हुसेनको हकमा भने स्थायी ठेगाना खुल्न नसकेको र अख्तियारले पेश गरेको नम्बरमा सम्पर्क हुन नसकेपछि म्याद पठाउन नसकिएको प्रवक्ता पाण्डेले बताए।

११० जनाविरुद्ध अभियोग भएकाले अन्यको हकमा पनि म्याद जारी गर्ने कार्य भइरहेको उनले बताए। आरोपपत्रमा उल्लेख भएका व्यक्तिहरुको ठेगाना रुजु गर्ने कार्य भइरहेकाले आइतबारदेखि थप आरोपितको हकमा म्याद जारी गर्ने उनले बताए।

गत बुधबार विशेषले  भूमिसुधार विभागका महानिर्देशकसहित डिल्लीबजार मालपोतका तत्कालीन ७ कर्मचारीलाई म्याद जारी गरेको थियो।

ललिता निवास जग्गा प्रकरणमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख कलाधर देउजा, भूमि तथा व्यवस्थापन विभागका महानिर्देशक मुकुन्द आचार्य, डिल्लीबजारकै मालपोत अधिकृत सुरेन्द्रमा कपाली, शाखा अधिकृत धर्मप्रसाद गौतम, नायब सुब्बा जगतप्रसाद पुडासैनी, डिल्लीबजार मालपोतका नायब सुब्बा युक्तप्रसाद श्रेष्ठ, विभागकै अर्का महानिर्देशक रुद्रकुमार श्रेष्ठका नाम, थर वतनमा म्याद जारी गरेको थियो।

बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका समयमा पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका थिए। गत साउन १३ गते उनले काठमाडौंको बालाजुस्थित हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम्फालेर आत्महत्या गरेका थिए।

प्रधानमन्त्री निवास बालुवाटार परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा उनीमाथि अख्तियारले बयान लिइरहेको थियो। मालपोत कार्यालय डिल्लीबजारमा खरिदार रहँदा उनले नक्कली कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो।

मन्त्रीहरुको नाम र ठेगाना रुजु गर्दै 
ललिता निवासमा  आरोपपत्र दायर भएका पूर्वमन्त्रीहरुको म्याद पठाउनका लागि रुजु गर्ने काम विशेषले थालेको छ। पूर्वभौतिक तथा पुर्वाधारमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार, छविराज पन्त, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीको म्याद पठाउन नाम, वतन रुजु गर्ने काम भइरहेको अदालतले जनाएको छ। एक दुई दिनमा उनीहरुको नाममा म्याद जारी हुने विशेषले जनाएको छ।