काठमाडौं । सर्वोच्च अदालतको लेटर प्याड नै किर्ते गरी नक्कली धनीपूर्जा बनाएर जग्गा बेचबिखन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा पर्ने करोडौं मूल्यको सार्वजनिक जग्गा व्यक्तिको नाममा कायम गर्न होडबाजी चलिरहँदा प्रहरीले पछिल्लो समय बारामा भूमाफियाको किर्ते व्यापक बन्दै गएको थाहा पाएपछि किर्ते गर्नेहरू धमाधम पक्राउ गरेको हो।
इलाका प्रहरी सिमराले सरकारी कागजपत्रको दुरूपयोग गरी किर्ते हस्ताक्षरको माध्यमबाट सार्वजनिक सम्पत्ति हडप्ने क्रियाकलापमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूबाट ठूलो संख्या अझै सक्रिय रहेको आशंकामा प्रहरीले थप व्यक्तिहरूको खोजी थालेको छ।
सर्वोच्च अदालतबाटै किर्ते पत्र बनाएर सार्वजनिक जग्गा भोगचलन गरिरहेकोले सर्वोच्चको अभिलेख शाखाको पत्र किर्ते भएको सर्वोच्च अदालतबाटै ठहर भइसकेकाले सो विषयमा छानबिन गरी कानुनबमोजिम कारवाही गर्न मालपोतले प्रहरीलाई पत्र पठाएपछि कितहरू पक्राउ पर्न थालेका हुन् ।
कागजपत्रसहित पक्राउ परेकाहरूमा महागढीमाई नगरपालिका ३ का वहाव अन्सारी, विरगञ्ज महानगरपालिका १८ का बलराम रौनियार र पर्सा जिल्ला बहुदरमाई नगरपालिका ३ का सलिम मिया र सोही पालिका २ का सुशीलप्रसाद यादव, चन्द्र सेखर सिंह र प्रल्हाद भनिने व्यक्ति छन् । भू(माफियाको ठूलो संख्यामा सग्लनता रहेको किर्ते अभियानमा समाजमा परिचित व्यक्तिहरूको समेत संलग्नता रहेको पाइएको छ ।
जनधारणा साप्ताहिकबाट