काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाऊपालिकामा देखा परेको रुघाखोकीको लक्षण सुरुमा कोरोना भाइरससंग मिलेपनि औषधिले काम गर्न थालेको छ । औषधिले काम गर्न थालेपछि स्थानीय मानिसको त्रास अलि कम भएको छ । सुरुमा रुघा खोकी र ज्वरोको कारण सय जनाभन्दा वढी मानिस विरामी भएपछि गाऊपालिकाले स्थास्थ मन्त्रालयलाई औपचारिक पत्र लेखेको थियो । गाऊपालिकाको पत्रपछि जिल्ला जनस्थास्थ कार्यालयले स्वास्थकर्मीहरु पठाएर औषधि चलाएपछि विरामीहरुलाई क्रमश सन्चो हुन थालेको छ ।

सुरुमा गाउँपालिकाले चारजना स्वास्थ्यकर्मीलाई गुम्बामा पठायो। स्वास्थ्यकर्मीले चेकजाँचपछि ज्वरो, रुघाखोकी देखिएको र यो कोरोना भाइरसको लक्षणसँग मिल्ने भन्दै गाउँपालिकालाई खबर गर्यो।

‘स्वास्थ्यकर्मीले नै दुईचारवटा लक्षण कोरोना भाइरससँग मिल्छ भनेपछि हामीले स्वास्थ्य मन्त्रालय लगायत माथिका निकायलाई पत्र पठायौं,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर विकले  भने।

पत्रमा स्वास्थ्य मन्त्रालयबाट तुरुन्त टोली पठाइदिन गाउँपालिकाले माग गरेको छ।

अहिले भने विरामीमा देखिएका लक्षण कम हुँदै गएको खटिएका स्वास्थ्यकर्मीलाई उधृत गर्दै गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्।

‘सुरुमा कोरोना भाइरससँग लक्षण मिल्ने देखिएपनि औंषधी चलाएपछि अहिले लक्षण कम हुँदै गएको छ। त्यस्तो आत्तिनुपर्ने अवस्था छैन,’ उपाध्यक्ष तामाङले भनिन्।

आफू जिल्ला स्वास्थ्य कार्यालयका चिकित्सकको टोलीसहित त्यस ठाउँतर्फ प्रस्थान गर्दै गरेको बताउँदै उनले थप कुरा त्यहाँ पुगेपछि थाहा हुने बताइन्।

उनले पत्र पठाएपनि स्वास्थ्य मन्त्रालयबाट कुनै जवाफ नआएको तर जिल्ला स्वास्थ्य कार्यालयसँग भने नियमित सम्पर्क भइरहेको बताएकी छिन्।

‘हामीले महामारी जस्तो फैलिएपछि स्वास्थ्य मन्त्रालयले तुरुन्त एक्सन लिन्छ कि भन्ने आशमा पत्रमा कोरोनाको लक्षणजस्तो भनेर उल्लेख गर्यौं,’ उनले भनिन्।

गाउँ नै थला परेपछि त्यहाँ अहिले विद्यालय नै बन्द गर्ने कि भन्ने पनि कुरा रहेको उनले बताइन्। गुम्बामा झण्डै डेढ सय घर छन् भने बसोबास गर्ने अधिकांशहरू लामाहरू हुन्।

प्रशासकिय अधिकृत लोकबहादुर विकले पनि विरामीमा कोरोनाभाइरससँग मिल्ने लक्षण देखिएको र गाउँपालिकामा त्यसको परीक्षण गर्ने प्रविधि नभएको भन्दै केन्द्र सरकारलाई गुहार्नुपरेको बताए।

तर अहिले विरामीमा देखिएको लक्षण कम हुँदै गएकोले त्यस्तो जोखिम नरहेको विकले जनाए।

‘हामीले अलिक अलमल भएर पनि कोरोनाभाइरसको लक्षण हो कि भन्यौं तर त्यसले कतिपयमा अनावश्यक त्रास पनि सिर्जना गर्न सक्छ। त्यसमा गाउँपालिका क्षमा चाहन्छ,’ उनले भने।