संगठन विद्यार्थीको, तर नेतृत्वचाहिँ दलाल, ठेकेदार र उद्यमीको भएपछि गाइजात्रा चल्ने नै भयो । नेविसंघको रमिता हो यो।
मुख्य नेताबीच भागबण्डा लगाएर नेतृत्व चयन गर्ने भनिए पनि उपगुटभित्रै रडाको मच्चिदा २१ मा १० जनामात्र मनोनीत भएका छन्, ११ पदाधिकारीले पूर्णता पाउन बाँकी छ। र, परेका पदाधिकारी पनि गैरविद्यार्थी छन्। अध्यक्ष बनाइएका राजीव ढुंगाना अहिले पनि सुनसरी कांग्रेसका सचिव हुन् भने उनको व्यवसाय शेयर कारोबार हो । उनी सुमेरु सेक्युरिटिज कम्पनीको शेयर दलाल नं ३४ को लाइसेन्ससहित आफ्नो व्यवसायमा सक्रिय छन् । नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेका उनी ठेक्कापट्टामा पनि सक्रिय छन् । नेविसंघ नेतृत्वका लागि ३२ वर्षे उमेरहद तोकिए पनि उनी ५० हाराहारीका हुन्। काशमान सिंहको कोटाबाट महामन्त्री बनाइएका प्रभातकुमार दाहालले पढाई छोडेको २० वर्ष भयो । पेशाले निर्माण व्यवसायी हुन् । तरुण कन्स्ट्रक्सन प्रा.लिका सञ्चालक हुन् । मकवानपुरमा इन्द्र बानियाँसँग कांग्रेसको जिल्ला सभापतिमा उठेर हारेका । अहिले चिठ्ठा परेर नेविसंघको महामन्त्री बनेका छन् । अर्का महामन्त्री मुक्तिराम पौडेलचाहिँ देशमा केही नहुने भयो भन्दै केही वर्षदेखि परिवारसहित क्यानाडा बस्न थालेका थिए । उता माइनस ४० डिग्रीसम्मको चिसो खानुभन्दा केही दिन आफ्नै देशको हावा खानु उचित लागेर छुट्टीमा काठमाडौंतिर डुल्दै थिए । तर, हावामात्रै खाएनन्, फ्याट्टै महामन्त्री खाइदिए। क्यानाडाको पिआरसमेत लिएका मुक्तिराम पेशाले बुटवल हेल्थ इन्स्टिच्युटका मालिक हुन्।
पद्मकन्या क्याम्पसकी पूर्वनेतृ चन्दा अधिकारी उनकी पत्नी। चन्दा पनि यता केही नहुने भो भन्दै क्यानाडामै बस्ने गरेकी छन् । मुक्तिराम प्रदीप पौडेलका भरलाग्दा आर्थिक सहयोगी र रामचन्द्र पौडेलमार्फत महामन्त्री बनाइएका रामचन्द्रके कोटाबाट महामन्त्री बनेका दीपक भट्टराईचाहिँ पेशाले प्राध्यापक । सधैं क्याम्पस जान्छन्, तर विद्याथीको रुपमा हैन, प्राध्यापकका
रुपमा। त्रिचन्द्रका आंशिक प्राध्यापक र पार्टी नेता गोविन्द भट्टराईको काकाका छोरा पनि । कृष्ण सिटौलाले पनि आफ्नो कोटाबाट तुलसा पन्तलाई उपाध्यक्ष बनाएका छन्। उनीचाहिं बानेश्वरमा गल्स होस्टेल चलाउँछिन्। अध्यक्षसहित ६ उपाध्यक्ष, ९ महामन्त्री र ६ सहमहामन्त्री गरी २१ सदस्यीय पदाधिकारीमध्ये देउवाले अहिलेसम्म आफ्नो कोटाबाट अध्यक्ष, २ उपाध्यक्ष, ३ महामन्त्री र २ सहमहामन्त्री बनाएका छन् । रामचन्द्रले ३ महामन्त्री, २ उपाध्यक्ष र २ सहमहामन्त्री पाए । रामचन्द्रको कोटामा सशांकले भनेर उर्मिला थपलियाको नाम पठाए । अहिले अको एउटा मान्छे पठाउनका लागि देउवासँग अनुरोध गरेका छन् । रामचन्द्रले अझै २ उपाध्यक्ष र २ महामन्त्री पठाउनुपर्ने हो। तर, आकांक्षी धेरै हुँदा उपगुटभित्र रडाको शुरु भएको छ । देउवाले पनि २ महामन्त्री त बनाए, तर थप महामन्त्री र उपाध्यक्षको नाम दिन सकिरहेका छैनन् ।
जनआस्था साप्ताहिकबाट