घोराही । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को एघारौं दिन चर्चित हास्यव्यङ्ग्य कलाकार कमल गाउँले र मोडल तथा गायिका प्रिती आलेले दर्शकलाई छमछमी नचाएका छन् ।
उनीहरुले दोहोरी मार्फत दर्शकहरुलाई छमछमी नचाएका थिए । प्रितीको वेली डान्स र कमल गाउँलेको हास्यव्यङ्ग्य प्रस्तुतीले महोत्सवको माहोल पूरै रोमाञ्चित बनाएको थियो । दाङ निवासी राष्ट्रिय कलाकार कमल गाउँलेले कार्यक्रमको बिचबिचम हास्यव्यङ्ग्य सहितको नृत्य प्रस्तुत गरेका थिए । सोमवार गाउँले, आले, कमल–नारायण, प्रेम शर्मा, देवकला बस्नेत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती देखाएका थिए । बिचबिचमा थुप्रै स्थानीय कलाकारहरुले नृत्य तथा गित प्रस्तुत गरेका थिए ।
महोत्सवको अन्तिम दिन आउँन नजिकै रहँदा दर्शकहरुको उत्साह निकै देखिएको चेम्वर दाङका सचिव एवम् प्रचारप्रसार समिति संयोजक कुमारराज श्रेष्ठले बताउनुभयो । ‘शुरुका दिनहरुको तुलनामा पछिल्ला दिनहरुमा दर्शकहरुको सङ्ख्या राम्रो देखिएको छ,’ उहाँले भन्नुभयो, ‘महोत्सवमा हामीले राष्ट्रिय कलाकारहरुका साथै थुप्रै स्थानीय प्रतिभाहरुलाई स्थान दिएका छौं ।’
प्रहरीको सचेतनामुलक दोहोरी
महोत्सवमा समुदाय प्रहरी साझेदारी अन्तर्गत सामुदायिक प्रहरीले कलाकारहरुसँग सचेतनामुलक दोहोरी गाएको थियो । दोहोरीमा बहुविवाह, वाल विवाह, लागु औषध, साइवर अपराध, चोरी जस्ता विषयमा सचेतनामुलक शन्देश प्रस्तुत गरिएको थियो । ‘गितसंगित मार्फत समाजमा सचेतना फैलाउने उद्देश्यले शन्देशमुलक दोहोरी गित गाइएको हो,’ दोहोरी गितमा सहभागि एक प्रहरी जवानले प्रतिकृया दिए ।
मङ्गलवार प्रमोद खरेल आउने
महोत्सवको बाह्रो दिन मङ्गलवार लोकप्रिय गायक प्रमोद खरेल आउने भएका छन् । मङ्गरवाल खरेल सहित चर्चित हास्यव्यङ्ग्य कमल गाउँले, बिक्रम थापा लागयत कलाकारहरुले प्रस्तुती देखाउने छन् ।