काठमाडौ । पछिल्लो समय लुकिछिपी बसेका कुख्यात गुण्डा नाइकेदेखि टोले गुण्डासम्म सल्बलाउन थालेका छन् ।
महानगरीय अपराध महाशाखाले यस्ता गुण्डा नाईके र तिनका सदस्यलाई सुक्ष्म रुपमा निगरानी राखेको छ । महाशाखाले केही गुण्डा सदस्यलाई पक्राउ गर्नेक्रम तिब्र पारेको छ । यस्ता एक दर्जन भन्दा बढी टोले गुण्डादेखि बिभिन्न अपराधमा मुछिएका ,जेल बसेर छुटेका एकदर्जन बढीलाई नियन्त्रणमा लिएको छ । उनीहरुको तत्कालको अपराधिक गतिविधिलाई नियन्त्रण गर्न महाशाखाले यस्तो कदम चालेको हो ।
दुई महिनाको अवधिमा महाशाखा र काठमाडौं परिसरले गुण्डागर्दीमा संलग्न नयाँ र पुराना अनुहार गरी दुई दर्जन बढीलाइ पक्राउ गरिसकेको छ । पुरानो गुण्डाहरुमा रमेश बाहुन नामले कुख्यात सुजन पौडेलको दायाँ हात मानिने दुर्गा राईदेखि प्रहरी ईन्काउन्टरमा मारिएका दिनेश अधिकारी चरी समूहका गुण्डा परेका छन् ।
पछिल्लो समय चरीको बिँडो उनका सहोदर दाजु धु्रब अधिकारीले सम्हालेको गोप्य सुचना महाशाखामा पुगको थियो । ठमेलको ज्याठा चोकमा भिआपी लाउन्ज बार सञ्चालन गर्दै आएका ध्रुब पछिल्लो समय आफ्नो बलियो गुट बनाउन लागि परेको स्रोत बताउँछ ।
गत साता धु्रब समूहका दुई गुण्डा महाशाखाको फन्दामा परेपछि अनुसन्धानको क्रममा गुटको रहस्य खुलाशा भएको हो ।
महाशाखाले गत साता बाग्लुङको ढोरपाटन स्थायी घर भई ग्रिनल्याण्ड बस्ने देबेद्रबहादुर घर्तिमगर र धादिङ घर भई नयाँ बजार बस्ने सुजन पौडेललाई पक्राउ गरेपछि धु्रब्र गुटको खुलासा भएको हो ।
आफ्नो भाई चरी प्रहरी ईन्काउन्टरमा मारिएपछि ध्रुबले त्यसको बदला लिन गुटको जन्म गर्न लागेको स्रोत बताउँछ । पक्राउ परेका घर्तिमगर र पौडेल दुबै जना ४ वर्ष जेल बसेर निस्केका कैदी हुन् ।
गोली प्रहार गरी एक जनाको हत्या प्रयास र अर्का एक जनालाई खुकुरी प्रहार गरेको अभियोग उनिहरुमाथि लागेको थियो । महाशाखाको रेर्कटमा यी दुई चरी समूहका थिए । अर्का जेलमा रहेका कुख्यात गुण्डा समिरमानसिंह बस्नेतको योजनामा र हाल निलम्बनमा रहेका डिएसपी कुमोद ढुंगेलले चरीको हत्या गरेको र त्यसको बदला लिन ध्रुबले आफ्नो बलियो संगठन निर्माण गरेको स्रोत बताउँछ ।
उता सिक्कीममा रहेका काभ्रेका दावा लामामाथि पनि समिरको आदेशमा नयाँ बस्तीमा गोली प्रहार भएको थियो । अहिले दावा र धु्रब भित्री रुपमा एक भै बस्नेत र डिएसपी ढुंगेल माथी आक्रमणको तयारी गरको स्रोत बताउँछ । यसको लागि दावा र ध्रुबको मिटिङ अर्का चर्चीत डन मिलन गरुङ उर्फ चक्रे मिलनले गराएको स्रोत बताउँछ । तर निलम्बीत डिएसपी ढुंगेल हाल फरार छन् भने बस्नेतर सेन्टर जेलमा छन् ।
जनप्रहार साप्ताहिकबाट