घोराही । घोराही–१६ तेरौटेका ३० वर्षीय मणिराज पुन हिजो आज जिल्लामै सफल च्याउ कृषकका रुपमा चिनिनुभएको छ । अरूले गर्दै आएको च्याउ खेतीभन्दा फरक तरिकाले उहाँले प्राविधिक रुपमा कठिन मानिएको गोबे्र अर्थात् डल्ले च्याउ उत्पादन गरिरहनुभएको छ ।

उहाँका अनुसार माटो, मल र बीउको मात्रा नमिलाए गोब्रे च्याउ उम्रिँदैन । उम्रिए पनि फक्रिँदैन, कुहिन्छ र डढेर नष्ट पनि हुन्छ । च्याउलाई तरिका पु¥याएर तथा जोगाएर उमार्न अप्ठेरो भए पनि अहिले उहाँले ग्राहकको मागलाई धान्नका लागि भए पनि मेहनेत गरेर गोब्रे च्याउ खेती गरिरहनुभएको छ ।
उहाँले आफ्नो घर, गोठ, घरछेउमा छाप्राछाप्री बनाएर पनि गोब्रे च्याउको खेती गर्दै आउनुभएको छ । बजारबाट डल्ले च्याउको माग अत्यधिक बढेपछि आफूले सोही च्याउको खेती शुरु गरेको उहाँ बताउनुहुन्छ ।

सामाजिक सञ्जाल चलाउँदै गर्दा सञ्जालमा च्याउ खेतीसम्बन्धी केही भिडियो देखेपछि उहाँले त्यसलाई खोज्दै जानुभयो । च्याउ खेती के कसरी हँुदैरैछ भनी आफैं पत्ता लगाउने प्रयास गर्नुभयो । च्याउ व्यवसाय गर्न सकिन्छ कि भनेर परिवारको सल्लाहअनुसार काठमाडौं पुगेर च्याउखेतीको तालीम पनि लिनुभयो ।
उहाँ भन्नुहुन्छ, “च्याउसम्बन्धी तालीम लिन जाँदा जिल्लामा च्याउ खानुपर्छ भन्ने सोचसमेत यहाँका बासिन्दामा थिएन ।” उहाँले आफैँ तालीम लिनुभयो । एक्लै खेती शुरु गर्नुभयो र बेच्न पनि आफैँ जानुभयो । त्यसताका २३÷२४ वर्षको ठिटो डोको बोकेर बजारमा च्याउ बेच्न जाँदा सबैले खिसी गरेको उहाँ सुनाउनुहुन्छ ।

“यो उमेरको मान्छेले पनि डोका बोकेर च्याउ बेच्न आउने भन्दै सबैजसो हाँस्नेहरु भेटिए”, उहाँ भन्नुहुन्छ, “निरन्तर बेच्न गएपछि च्याउका छुट्टै उपभोक्ता बने ।” केही यस्ता व्यक्ति पनि भेटिए जसले उनको मन राख्न दैनिक एक पाउ भए पनि च्याउ किनिदिए । एक दिन नदेखे किन नआएको भन्दै प्रश्न गर्ने गर्न थाले । क्रमशः च्याउका उपभोक्ता बढे र युवा व्यवसायी पुनको खोजी हुनथाल्यो, च्याउको बजार पनि बढ्न थाल्यो ।

उहाँले अहिले दैनिक ४० देखि ६० केजीसम्म च्याउ बिक्री गरिरहनुभएको छ । उहाँले उत्पादन गर्ने गोब्रे ९डल्ले० च्याउको मूल्य प्रतिकेजी रु ५०० छ भने कन्ने च्याउ रु २०० मा बेचिरहनुभएको छ । उहाँले अहिले आफ्नो घर, गोठमा च्याउ उत्पादन गरिरहनुभएको छ । उहाँले एउटा ठूलो टहरासमेत निर्माण गर्नुभएको छ । अब दैनिक १०० केजी च्याउ बेच्ने उहाँको लक्ष्य छ । उहाँको च्याउ प्यूठान र रोल्पा पनि पुगिरहेको छ । उहाँ भन्नुहुन्छ, “जति उत्पादन गरे पनि बजारको माग धान्नै सकिँदैन ।”

उहाँसँगै अन्य चार युवा पनि च्याउ खेतीमा लागेका छन् । उनीहरुले च्याउको व्यवस्थापन र बजार प्रतिनिधिका रुपमा काम गरिरहेका छन् । च्याउ खेतीका लागि सरकारीस्तरबाट आर्थिक सहयोग नभए पनि हौसला र प्राविधिक सहयोग भने पाइरहेको उहाँ बताउनुहुन्छ । च्याउ कृषक पुनले अहिले गौमुखी च्याउ तथा कृषि उद्योग नाम दिएर कृषि फार्म दर्ता गरी व्यावसायिक रुपमै च्याउ व्यवसायमा होमिएका छन् ।

उहाँले अहिले अन्य च्याउभन्दा पनि गोब्रे च्याउलाई बढी प्राथमिकता दिने गर्नुभएको छ । प्राविधिक रुपमा निकै झन्झटिलो छ, माटो बनाउँदा केही सानो गल्ती भएमा गरिएको खेती सबै नष्ट भएर जाने हुन्छ तर उहाँले गोब्रेलाई नै बढी प्राथमिकता दिने गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, “गोब्रे च्याउ यति धेरै माग हुन्छ कि ग्राहकलाई छैन भनेर फर्काउनुपरेको छ ।” विशेषगरी होटलमा च्याउका झोल खानका लागि गोब्रे च्याउ बढी बिक्री हुन्छ । अहिले गोब्रे च्याउका पारखी असाध्यै बढेका छन् । घरमै खोज्न आउँछन्, फोन गर्छन् । जिल्ला बाहिरबाट पनि अत्यधिक माग हुने गरेको छ ।
पछिल्लो समय गोब्रे च्याउलाई उपभोक्ताले राम्रोसँग चिनेका छन् । जिल्लामा स्थापना भएको प्रदेशस्तरीय कृषि ज्ञान केन्द्रका प्रचारप्रसार अधिकृत भरत पोखरेल दाङको घोराहीमा च्याउको खेती निकै राम्रोसँग फस्टाएको बताउनुहुन्छ । गोब्रे च्याउ खेती गर्ने भने निकै कम छन् ।

यस्तै कृषिमा नयाँ सोचको विकास गर्ने भन्दै सरकारले ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले एक हजार किलो च्याउको बीउ खपत गर्ने कृषकलाई प्रतिकृषक रु तीन लाख अनुदान दिने गरेको छ । अहिले घोराहीमा मात्रै च्याउका पाँच मुख्य क्षेत्र सञ्चालनमा आएको छ । तीनक्षेत्रका कृषकलाई ज्ञान केन्द्रले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको उहाँले बताउनुभयो । दाङका कृषकले अहिले तरकारीका रुपमा च्याउको बिक्री गर्नाका साथै यसको सुकुटी बनाउने, अचार बनाउने, सुपका लागि धुलो बनाउने काम गरिरहेका छन् ।