काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकले ‘फोर्स मर्जर’को तयारी गरेको दोहोर्‍याएका छन् । नेपाल पुँजीबजार लगानीकर्ता संघले काठमाडौंमा गरेको अन्तरक्रिया तथा संघको दोस्रो वार्षिक साधारणसभामा उनले बैंकहरुलाई स्वेच्छिक मर्जरका लागि प्रोत्साहित गर्ने र स्वेच्छिक मर्जर नभए फोर्स मर्जर गर्ने तयारी गरेको बताएका हुन् ।

अहिले फोर्स मर्जरका लागि केही नभने पनि समय आएपछि भने फोर्स मर्जरका लागि पछि नहट्ने उनको भनाइ छ । शिवाकोटीले राष्ट्र बैंकले ब्याजदरको स्थायित्वमार्फत् पुँजीबजारलाई पनि स्थायित्व दिने प्रयास गरेको बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सेयरबजारलाई सबैतिरबाट सुधार्ने प्रयास भइरहेको बताए ।उनले सरकारले सेयरबजारसम्बन्धी लचिलो नीति ल्याउने तयारी गरेकाले सेयरबजारमा लगानी गर्नेलाई निराश नहुन आग्रह गरे ।

पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले सेयरबजार सुधारका लागि अझै थप कामहरु गर्न बाँँकी रहेकाले भ्रष्टाचार नियन्त्रण तथा सुशासनमा जोड दिनुपर्ने बताए । यस्तै, पूर्वअर्थमन्त्री शंकर कोइरालाले सरकारले पुँजीबजारप्रति आफ्नो दृष्टिकोण सकारात्मक राख्नुपर्ने बताए ।

संघकी अध्यक्ष राधा पोखरेलले पुँजीबजारमा लगानीकर्ताले स्वतन्त्ररुपमा काम गर्न पाउनुपर्ने धारणा राखिन् ।